३ मंसिर २०८१, सोमबार | Tue Nov 19 2024

गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरले डेढ करोड दियो

२ कातिक, चितवन । गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई भरतपुर महानगरपालिकाले रु एक करोड ५० लाख प्रदान गरेको छ । महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई सो रकम बराबरको चेक आज हस्तान्तरण गर्नुभयो ।

महानगरपालिकाले आन्तरिक स्रोतबाट विनियोजित रु चार करोडमध्ये पहिलो चरणमा रु ५० लाख र दोस्रो चरणमा रु एक करोड ५० लाख प्रदान गरेको हो । महानगर प्रमुख दाहालले रङ्गशाला कोरोना कहरका बीचमा पनि तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै निर्माण प्रगतिका आधारमा विनियोजितमध्येको रकम थप्दै लगिने जानकारी दिनुभयो ।

फाउण्डेशनका अध्यक्ष धुर्मुसले रकम ग्रहण गर्दै अन्य रकमका बारेमा आवश्यक समन्वय र सहजीकरण गरिदिन समेत आग्रह गर्नुभयो । रङ्गशाला भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माण भइरहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार २१:५६