६ कार्तिक २०८३, बिहिबार | Thu Oct 22 2026

आँबुखैरेनी ५ र ६ का स्थानीयलाई फोन सम्पर्क गर्न आधा घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता

३० असोज, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र ६ दुई वडाका बासिन्दालाई अझै पनि सञ्चार क्षेत्रले छुन सकेको छैन । त्यस क्षेत्रका बासिन्दाले कोही कसैलाई फोन सम्पर्क गर्नुप¥यो भने करिब आधा घण्टा पैदल हिँडेर टावर टिप्ने स्थान खोज्दै सम्पर्क गर्नुपर्ने उनीहरुको दिनचर्या नै बनेको छ ।

समुद्री सतहदेखि करिब एक हजार २०० मिटर उचाइमा रहेको उक्त स्थानका मानिस टावरले टिप्ने डाँडाकाँडा पुग्नुपर्ने अवस्था रहेको आँबुखैरेनी गाउँपालिका–६ का वडाध्यक्ष सुनाराम गुरुङले बताउनुभयो हिलेखर्क पर्यटकीय दृष्टिकोणले गन्तव्यस्थलको रूपमा परिचित भए पनि सञ्चार र विद्युत्ले छुन नसक्दा ओझेलमा परेको उहाँले बताउनुभयो ।

आँबुखैरेनी गाउँपालिका–५ टेलिकमले टावर राख्ने कार्यको शुरुआत गरे पनि वडा नं ६ मा भने कुनै पनि सुरसार नभएको वडाध्यक्ष गुरुङले बताउनुभयो । यस वडामा करिब तीन हजार जनसङ्ख्या रहेका छन् । वडाध्यक्ष गुरुङले भन्नुभयो, “विद्युत् र सञ्चार क्षेत्रमा यहाँका बासिन्दा पछि पर्दै गएकाले कष्टकर जीवन बिताउँदै आएका छन् ।”

उक्त क्षेत्रमा विद्युत्का पोल गाडे पनि बिजुली तार टाँग्ने कार्य बाँकी रहेकाले टेलिकम र एनसेलको टावर राख्न कठिनाइ भएको हो । जहाँ पायो त्यही टावरले टिप्दैन । उहाँले भन्नुभयो, “सम्पर्क गर्नका लागि घरदेखि टाढा डाँडामा गएर टावर टिप्ने स्थानबाट सम्पर्क गर्नुपर्ने यहाँको बाध्यता रहेको छ ।”

सम्बन्धित निकायमा पटक–पटक घच्घच्याए पनि दशैँपछि हुन्छ भन्ने आश्वासन पाएकाले थोरै भए पनि आश जागेको उहाँले बताउनुभयो । चितवनस्थित कविलासको टावरले टिप्ने स्थानमा गएर सम्पर्क गर्नुपर्ने अवस्था रहेको सोही वडास्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मणप्रसाद सिंखडाले बताउनुभयो । गाउँभन्दा पर डाँडामा गएर सम्पर्क गर्नु यहाँका बासिन्दालाई बानी नै परिसकेको छ । उहाँले भन्नुभयो, “सहजरूपमा सञ्चारको पहुँच पुग्न नसक्दा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ ।”

जिल्लाका नेता गोविन्द भट्टराई, प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानलगायत नेतालाई यहाँको सञ्चार अवस्थाका बारेमा आफूले समेत पटक–पटक जानकारी गराएको प्रअ सिंखडाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : October 16, 2020 at 9:01 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/