१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

भेरीमा कोरोनाबाट थप दुईको मृत्यु, २० सिकिस्त

२५ असोज, नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नंं ८ निवासी ७१ वर्षीया महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत पुरुषको शनिबार राति ९ः५५ बजे मृत्यु भएको थियो भने त्यसको पाँच मिनेटको अन्तरमा १० बजे महिलाको मृत्यु भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि पिसीआर परीक्षण गर्दा पुरुषमा गत असोज ६ गते र महिलामा १४ गते कोरोना सङ्क्रमण देखिएको थियो ।

फाइल फाेटाे

दुवै जनालाई भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारको आवश्यक उपचार गरिए पनि स्वास्थ्य अवस्थामा सुधार नआई उपचारकै क्रममा बिरामीको मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले बताउनुभयो ।

यससहित बाँके जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । बाँकेको भेरी अस्पतालमा आठ र शिक्षण अस्पताल कोहलपुरमा १२ गरी २० सङ्क्रमित सिकिस्त अवस्थामा छन् ।

प्रकाशित मिति : October 11, 2020 at 7:30 am