१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

चाडपर्व मनाउँदा जनस्वास्थ्यका मापदण्ड पालन गर्न स्वास्थ्य मन्त्रालयको अपिल

२४ असोज, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाड पर्व, जात्रा तथा उत्सव मनाउँदा कोभिड–१९ सम्बन्धि जनस्वास्थ्यका मापदण्ड पालन गर्न अपिल गरेको छ । मन्त्रालयले सबै किसिमका चाड पर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घर परिवारका व्यक्ति बाहेक अन्य व्यक्तिसँग भेटघाट कम गर्नसमेत सबैलाई अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले भेटघाट गर्नै पर्ने भए कम्तिमा दुई मिटरको दूरी अनिवार्य रुपमा कायम गर्न आग्रह गर्नुभयो । प्रवक्ता गौतमले भन्नुभयो, “चाड पर्वको समयमा सकेसम्म घरबाट ननिस्कने, जानै पर्ने भएमा मास्क, कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रुपले साबुन पानीले हात धुने र सेनिटाइजर प्रयोग गर्नुपर्नेछ ।”

मन्त्रालयले धार्मिक स्थलमा हुने हरेक भेला, कार्यक्रममा बढिमा २५ जना मात्रै भेला हुने व्यवस्था गर्न, अभिवादन गर्दा भौतिक दुरी कायम गरी टाढैबाट नमस्कार वा अभिवादन गर्न र शरीर छुने वा अङ्गालो मार्ने कुनै प्रकारको अभिवादन नर्गन पनि सबैमा आग्रह गरेको छ ।

प्रवक्ता गौतमले भन्नुभयो, “नाक, आँखा, मुख सकेसम्म नछुने यदि छुनै परेमा हात धोएर वा हातमा सेनिटाइजर प्रयोग गरेर मात्र छुने, खोक्दा, हाछ्यँु गर्दा रुमाल या टिसियु पेपरले मुख छोप्ने, सो सम्भव नभएमा कुइना दोबारेर छोप्ने, सार्वजनिक स्थलमा जथाभावी नथुक्ने, सम्भव भएसम्म पैसाको कारोवार गर्दा विद्युतीय माध्यमबाट कारोवार गर्ने बाली बासाल्नुपर्छ ।”

उहाँले उच्च जोखिममा रहेका व्यक्तिले घर बाहिर हुने मेलामा सहभागि नहुन पनि आग्रह गर्नुभयो । उहाँका अनुसार मन्त्रालयले ज्वरो, खोजी वा स्वासप्रश्वासमा समस्या भएका व्यक्ति, ६० वर्ष भन्दा बढि उमेर भएका व्यक्ति, १२ वर्ष मुनिका बालबालिका, गर्भवती तथा सुत्केरी महिला, रोग प्रतिरोधी क्षमता कम भएका व्यक्ति, मधुमेह, क्यान्सर, उच्च रक्तचाप, मिर्गौला, कलेजो सम्बन्धि समस्या, दमलगायत दीर्घ रोग भएका व्यक्तिहरु, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति, शरीरमा मेडिकल उपकरण राखेका व्यक्तिलाई कोभिड–१९ बाट सुरक्षित राख्नुपर्छ ।

कार्यक्रम स्थलमा ध्रुमपान र मध्यपानको पूर्ण रुपमा निषेधित गरिएको तथा जनस्वास्थ्यको पालन नगर्ने र जथाभावी गर्ने व्यक्तिलाई स्थानीय प्रशासनले सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गर्ने मन्त्रालयको भनाइ छ । मन्त्रालले जथाभावी फोहोर नफाल्न पनि सबैमा आग्रह गरेको छ । सोही अवसरमा मानसिक रोग विशेषज्ञ डा केदार मरठाले मानसिक स्वास्थ्यको नियमित जाँच गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : October 10, 2020 at 8:22 pm