१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

आइसोलेशनमा नबस्ने काेराेना संक्रमितलाई ६ महिनाकाे जेल सजाय हुने

२३ असाेज, काठमाडाैँ । सरकारले आइसोलेशनमा नबस्ने कोरोना संक्रमितलाई ६ महिनासम्म जेलमा राख्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कतिपय सङ्क्रमित आइसोलेशनमा नबसेर बाहिर निस्किएको वा काममा समेत जाने गरेको सूचना आएको भन्दै त्यस्ता व्यक्तिलाई पक्राउ गरी सङ्क्रामक रोग ऐनअनुसार कारबाही गर्ने बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले पक्राउ गरी कारबाहीका लागि गृह मन्त्रालयलाई अनुरोध गरिसकेको भन्दै प्रवक्ता गौतमले कोरोना सङ्क्रमित भएको व्यक्ति आइसोलेशनमा बसे/नबसेको बारेमा जानकारी लिन छिमेकीहरुलाई आग्रह गर्नुभयो ।

एक जना सङ्क्रमित बाहिर निस्कँदा अरु धेरैलाई सङ्क्रमणको जोखिम हुने भएकोले सङ्क्रमित व्यक्ति स्वयं सचेत हुनुपर्ने र व्यक्तिले लापर्वाही गरेमा परिवारका सदस्य तथा छिमेकीहरुले प्रहरीलाई खबर गर्नुपर्ने उहाँले बताउनुभयो । यस्तै प्रवक्ता गौतमले पीसीआर परीक्षणका लागि स्वाब दिएपछि नतिजा नआउञ्जेल अनिवार्य क्वारेण्टीनमा बस्न समेत आग्रह गर्नुभयो ।

प्रकाशित मिति : October 9, 2020 at 5:32 pm