काँग्रेसको नाराबाजीपछि प्रदेशसभा बैठक केही समयलाई स्थगित
१९ असाेज, रुपन्देही । प्रदेश नं ५ को प्रदेशसभाको बैठक आज केहीबेरका लागि स्थगन भएको छ । बैठकमा सरकारका तर्फबाट प्रस्तावित प्रदेश राजधानीका विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सदस्यले नाराबाजी गरेपछि अपराह्न २ बजे बस्ने गरी स्थगन भएको हो । शुरुमै कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बोलेपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक सञ्चालन गर्नेक्रममा प्रतिपक्षी दलका सांसदले नाराबाजी गरेका हुन् ।
बैठकमा संसदीय दलका नेता कनौडियाले संसदीय मूल्यमान्यता विपरीत राजधानीको प्रस्ताव आएको जनाउँदै यो आफ्नो दललाई मान्य नहुने बताउनुभयो । उहाँले रुपन्देहीबाट राजधानी सार्नुपर्ने औचित्य प्रमाणित गर्न सरकारलाई चुनौती पनि दिनुभयो । “राजधानी जहाँ भए पनि त्यसको औचित्य प्रमाणित गर्नुपर्छ । राजधानी खेलठट्टाको विषय होइन”, उहाँले भन्नुभयो, “महत्वपूर्ण संरचना हुँदाहुँदै पनि कुनै एउटा दलको नेताकै कारण राजधानी तोकिनु गलत हो ”, उहाँले भन्नुभयो ।

संसदीय दलका नेता कनौडियाले प्रदेशको राजधानीको नामकरण र केन्द्र तोक्न विज्ञको समिति बनाइए पनि समितिको सुझाव नसुनिकन राजधानी तोकिनु मान्य नभएको धारणा राख्नुभयो । उहाँले आफ्नो भेगीय राजनीतिक स्वार्थभन्दा माथि उठेर राजनीतिक सहमतिका आधारमा अघि बढ्न मुख्यमन्त्रीलाई सुझाव दिनुभयो । रुपन्देहीमै अन्तरराष्ट्रिय विमानस्थललगायत महत्वपूर्ण संरचना हुँदाहुँदै राजधानी सार्ने विषय उपयुक्त नभएको जनाउँदै उहाँले यसलाई सच्चाउनुपर्ने बताउनुभयो । ‘गाउँपालिका र नगरपालिकाको भवन अहिलेसम्म बन्न सकेका छ्रैनन । प्रदेशका संरचना कहिले बन्छन् ?’ उहाँले प्रश्न गर्नुभयो ।
प्रकाशित मिति : October 5, 2020 at 2:24 pm



