१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रकाे सेवा बन्द

१५ असाेज, दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको छ । उपचार केन्द्रको प्रयोगशालामा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएपछि आजदेखि सेवा बन्द गरिएको हो ।

उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले अर्को सूचना प्रकाशित नभएसम्मका लागि केन्द्रबाट उपलब्ध हुने प्रशासनिक र आइसोलेसन बाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ती स्वास्थ्यकर्मीको कन्ट्याक्टमा आएका सबैको स्वाब परीक्षण गर्ने तयारी गरिएको छ ।

“अस्पतालका अधिकांश स्वास्थ्यकर्मी उहाँको सम्पर्कमा आउनुभएको छ, सबैको शुक्रबार स्वाब सङ्कलन गर्दैछौँ,” डा श्रेष्ठले भन्नुभयो, “पिसिआर रिपोर्ट आएपछि मात्रै सेवा खुल्छ ।”

आइसोलेसनलाई छुट्टै भवन

सो केन्द्रमा आइसोलेसन कक्षका लागि छुट्टै भवन निर्माण हुने भएको छ । हाल अस्पतालमा ५० शय्या क्षमताको आइसोलेसन छ । कोरोना महामारी फैलिएपछि अस्पतालको दोस्रो र तेस्रो तलामा रहेका विभिन्न विभाग हटाएर आइसोलेसन सञ्चालनमा ल्याइएको छ ।

अस्पतालको नियमित सेवा सञ्चालन गर्नलाई छुट्टै भवन निर्माण गरेर आइसोलेसन सञ्चालन गरिने अस्पतालका कार्यकारी निर्देशक डा श्रेष्ठले बताउनुभयो । आठ कोठाको नयाँ भवन निर्माणका लागि टेन्डर आह्वान भएर मूल्याङ्कनको चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।

सङ्घीय सरकारले ५० शय्या क्षमताको आइसोलेसन भवन बनाउन रु एक करोड बजेट पठाएकामा अपुग हुने भएपछि ३० शय्याको आइसोलेसन बनाइने श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : October 1, 2020 at 3:20 pm