४ असार २०८२, बुधबार | Wed Jun 18 2025

आफन्तको घरमा पुजामा सहभागी भएर फर्किँदै गर्दा पहिरोमा पुरिएर २ जनाको मृत्यु

६ असोज, काठमाडाैँ । इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ । सोमबार राति गएको पहिरामा पुरिएर बेपत्ता बनेका दुई जना आज बिहान मृतावस्थामा फेला परेका छन् ।

इस्मा गाउँपालिका –२ रातामाटाका ३९ वर्षीय प्रेमबहादुर कुमाल र पाँच वर्षीय सफल कुमालको शव आज बिहान नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पहिराबाट निकालेको सशस्त्र प्रहरी बल गुल्मीका प्रहरी नायब उपरीक्षक अशोककुमार लम्सालले जानकारी दिनुभयो ।

आफन्तको घरमा पुजामा सहभागी भएर फर्किँदै सडकमा हिँड्दै गरेका अवस्थामा सडकमाथिबाट ठूलो पहिरो खस्दा दुवै पहिरामा पुरिएर बेपत्ता बनेका थिए । घटनामा स्थानीयवासी तिलक कुमालसमेत घाइते हुनुभएको छ । सोमबार अपराह्न उक्त क्षेत्रमा ठूलो पानी परेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलवार १२:४६