५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

लायन्स क्लवका अध्यक्षहरुको भेला पोखरामा सम्पन्न

–शिशिर सिंखडा
२२ जेठ, कास्की । लायन्स क्लव इन्टरनेशनल ३२५ बी २ नेपालको आयोजनामा लायन्स क्लवका अध्यक्षहरुको भेला पोखरामा सम्पन्न भएको छ । पोखराको होटल ग्रयाण्डमा भएको भेलामा ३२५ बी २ सँग आवद्ध सम्पूर्ण क्लवका अध्यक्षहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै वर्ष २०१८÷१९ का डिस्ट्रिक्ट गभर्नर सुनिल ओझाले विश्वभर हरेक वर्ष मधुमेह रोगका कारण ५० लाख मानिसको मृत्यु हुने गरेको बताए । मृत्यु हुनेहरु मध्ये आधालाई मधुमेहले मृत्यु भएको समेत थाहा नपाएको उनले बताए । म सेवा गर्छु भन्ने उद्देश्यले १ सय १ वर्ष पहिले स्थापना भएको विश्वकै सबैभन्दा ठूलो र पुरानो यस संस्थाले विभिन्न समयमा नेपाल सहित विश्वभर विभिन्न सामाजिक कार्य गरेको समेत बताए । यस वर्ष मधुमेह रोगको न्यूनीकरण अभियानमा क्लवहरु लाग्ने उनले बताए ।

डिस्ट्रिक्ट गभर्नर ओझाले लायन वर्ष २०१८÷१९ का लागि आफ्ना भावी कार्यक्रम समेत प्रस्तुत गरेका थिए । गत आइतबार र सोमबार भएको भेलामा उनले यस वर्ष मधुमेह रोगलाई न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम तथा यससँग सम्बन्धित विभिन्न कार्यहरु गर्ने समेत बताए ।
क्लवले यस अगाडि आँखाको दृष्टिका बारेमा काम गरेको र यस वर्ष पनि गरिरहेको बताउँदै वातावरण, शिशु अबुर्द (पेडियाट्रिक क्यान्सर) लगायतका विषयमा कार्य गर्ने योजना प्रस्तुत गरेका थिए । उनले दैवी प्रकोप तथा राहत कार्य, हरितकण, बृहत स्वास्थ्य शिविर, बृहत रक्तदान, छात्रवृत्ति, विभिन्न सीपमूलक तालिमहरु समेत गर्ने योजना रहेको बताए ।

यस वर्ष “गर्व र सम्मानका साथ सेवा गरौ” भन्ने नारालाई आत्मसात गर्दै लायन्सको गरिमालाई यस वर्ष थप उचाइमा पु¥याउने समेत उनले बताए । लायन्स क्लव हालसम्म विश्वका २ सय ११ देशमा ४७ हजार क्लव रहेका छन् । यसको १५ लाख लायन सदस्यहरु रहेका छन् भने विश्वमा ७ सय ५३ वटा डिस्ट्रिक्ट रहेका छन् ।

सडक दुर्घटना न्यूनीकरण सम्बन्धी पुस्तक हस्तान्तरण
गैरआवासीय नेपाली संघले प्रकाशन गरेको अन्तर्राष्ट्रिय सडकका नियम तथा सडक दुर्घटनाबाट बच्ने उपायहरु समेटिएको अन्तर्राष्ट्रिय सडक संकेत कितावको लायन्स क्लवको अध्यक्षहरुको भेलामा हस्तान्तरण गरिएको छ । लायन्स क्लव अफ चितवन लंकुका वर्ष २०१८÷१९ का अध्यक्ष एवम् गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष सोमनाथ सापकोटाको समन्वयमा सो पुस्तक सम्पूर्ण क्लवका अध्यक्ष एवम् क्याबिनेट अफिसरहरुलाई प्रदान गरिएको थियो ।

पैदल यात्री, साइकल, मोटरसाइकल यात्री एवम् सम्पूर्ण चालकका लागि विश्वव्यापी नियमहरु भएको पुस्तकको अध्ययनबाट सडकमा सवारी चलाउन र दुर्घटनाबाट बच्न धेरै सहज हुने संघका सहकोषाध्यक्ष सापकोटाले बताए । विदेशमा नेपालीहरु दुर्घटनाका कारण ब्लड मनी तिर्न नसकेर समस्यामा रहेको पाइएको भन्दै सापकोटाले यो पुस्तकको अध्ययनबाट विदेश जाने नेपालीहरुलाई सहयोग हुने समेत बताए । सो पुस्तक नेपाल सरकार गृह मन्त्रालय, प्रहरी कार्यालयहरु, ट्राफिक प्रहरी कार्यालयहरु, ड्राइभिङ्ग इन्स्टिच्युटहरुलाई समेत उपलब्ध गराइएको उनले बताए । साथै लायन्स र गैरआवासीय नेपाली संघ मिलेर सडक दुर्घटना न्यूनीकरणका सम्बन्धमा कार्यक्रम समेत गरिरहेको उनले बताए

लायन्स क्लवको “द इरा अफ लायन्स” पुस्तक विमोचन
लायन्स क्लव अफ काठमाडौ आइडलले हरेक महिना प्रकाशन गर्ने “द इरा अफ लायन्स” नामक पुस्तक एक कार्यक्रमका बीच विमोचन गरिएको छ । लायन्स क्लवका अध्यक्षहरुको भेलामा विमोचन गरिएको सो पुस्तकमा देशभरका लायन्स क्लवहरुले गरेको सम्पूर्ण गतिविधिहरु समावेश गरी हरेक महिना सो पुस्तक प्रकाशन गरिने लायन्स क्लव अफ काठमाडौ आइडलकी अध्यक्ष अनिता ठकुरीले जानकारी दिइन् ।

लायन्स क्लवका अध्यक्षहरुको भेलामा क्लवका पूर्व डिस्ट्रिक्ट गभर्नर डि.के. ढुंगाना, अरुण प्रताप राना, बी १ का पूर्व गभर्नर धु्रव थापा, बी २ का डिस्ट्रिक्ट चीफ एडभाइजर रामप्रसाद भट्ट, प्रथम उपाध्यक्ष अनुप पहारी, द्वितीय उपाध्यक्ष शम्भु नकर्मी, डिस्ट्रिक्ट सेक्रेटरी उमंग देवकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए । सोही कार्यक्रममा लियो अनिल श्रेष्ठले तयार गरेको लायन्स क्लवको नयाँ एपको सार्वजनिकीकरण समेत गरिएको थियो । सो भेलामा विभिन्न पदमा रही योगदान पु¥याउनुहुने लायन सदस्यहरुलाई सम्मानित समेत गरेको थियो ।

   

प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलवार १८:०८