स्वास्थ्यमा समस्या आएपछि कोरोना संक्रमित शशांक कोइराला अस्पताल भर्ना
३१ भदौ, काठमाडौँ । कोरोना संक्रमित भएका कांग्रेस महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । काेराेना संक्रमण पुष्टि भएपछि होम आइसोलसनमा बसेका उनि स्वास्थ्यमा केही असहजता उत्पन्न भएकाले अस्पताल भर्ना भएका हुन् ।
उनका स्वकीय सचिव भरत तिवारीका अनुसार निमोनियाको शंका लागेपछि मंगलबार साँझ ८ बजे चाबहिलस्थित ओम अस्पताल भर्ना भएका हुन्।

कोइरालालाई माइल्ड खालको निमोनिया र ज्वरो देखिएको अस्पतालका प्रवक्ता विनोद अधिकारीले बताए। उनकाे स्वास्थ्य अवस्था सामान्य रहेको र प्यारासिटामोल दिएर आईसीयूभित्रको आइसोलेसनमा चिकित्सकीय निगरानीमा राखिएको अस्पतालले जानकारी दिएको छ ।
कांग्रेस महामन्त्री कोइरालालाई गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएको थियो ।
प्रकाशित मिति : September 16, 2020 at 12:22 pm



