१२ पुष २०८१, शुक्रबार | Fri Dec 27 2024

धादिङमा म्याद नाघेका विभिन्न ब्राण्डका खाध्य वस्तु नष्ट

२२ जेठ, धादिङ । धादिङ खण्डमा सोमबारदेखि जिल्ला अनुगमन समितिले बजार अनुगमन शुरु गरी म्याद नाघेका विभिन्न ब्राण्डका खाध्य वस्तु नष्ट गरेको छ ।

अकस्मात् बजार अनुगमनमा पुगेको टोलीले बेनीघाट रोराङ गाउँपालिका क्षेत्रमा रहेका बजारबाट ठूलो मात्रामा म्याद नाघेका वस्तु बरामद गरेको सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए ।

बिस्कुट, चाउचाउ, चियापत्ती, विभिन्न ब्राण्डका जुस, लेज, कुरकुरे लेज आदि बरामद गरी नष्ट गरिएको छ । गाउँपालिकाको मौवाखोला क्षेत्रमा बजारमा बिक्री गरिएका बिस्कुट थोक बिक्रेताले नै म्याद गुज्रेपछि पठाएकाले धेरै सामग्री बजारमा म्याद नाघेको भेटिएको व्यवसायीको भनाइ छ ।

मदिराजन्य वस्तु अनुमति नलिई बिक्री वितरण गर्न नपाइने कानूनी प्रावधान विपरीत बिक्रीवितरण गरिएका १० भन्दा बढी पसलबाट मदिरासमेत अनुगमन टोलीले बरामद गरी नष्ट गरेको छ ।

अनुगमन निरन्तर गरिने र यात्रु लक्षित होटल तथा खाद्य पदार्थको गुणस्तर सुधार गर्न अनुगमनले नियमन गर्ने अनुगमनमा सहभागी प्रजिअ भगिरथ पाण्डेको भनाइ छ । आज भने गजुरी क्षेत्रमा अनुगमन भइरहेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलवार १२:१६