५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

ललितपुरमा श्रीमती पीडित श्रीमान बढे, घर झगडाका १४३ मुद्दा प्रहरीकोमा दर्ता

२२ जेठ, ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरमा साउनदेखि यता मात्रै १४३ घरायसी झगडाका मुद्दा दर्ता भएका छन् । महिला तथा बालबालिका सेवा केन्द्रमा महिला हिंसाका विभिन्न घटना आइरहेका छन् । त्यसमा सबैभन्दा बढी घरेलु झगडाका घटना भएको केन्द्रका प्रमुख चञ्चला श्रेष्ठले बताउनुभयो ।

श्रीमान् र श्रीमतीबीच पारिवारिक र आर्थिक बेमेलका घटना बढी आउने गरेका छन् । धेरैजसो मध्यम र निम्न वर्ग तथा अशिक्षित व्यक्तिका मुद्दा प्रहरीसम्म आउँछ । उहाँ भन्नुहुन्छ, “सम्पन्न परिवारका कोही महिला पीडित नै भए पनि समाजले के सोच्ला भनेर डराएर आउँछन् ।”

दशकौँदेखि प्रहरीसम्म उस्तै प्रकृतिका झगडा आउने गरेका छन् । श्रीमान्ले खान लाउन नदिएको, नागरिकता र सन्तानको जन्मदर्ता नगराएको र अर्की श्रीमती ल्याएका मुद्दा अझै बढी छन् ।

प्रविधिको प्रयोग र सामाजिक जीवनमा आएको परिवर्तनले गर्दा नयाँखालका घटनासमेत प्रहरीसम्म आउन थालेको छ । विवाह नगरी सँगै बस्ने तथा इन्टरनेट वा प्रविधिको प्रयोगमार्फत हुने हिंसाका घटना प्रहरीका लागि नयाँ हुन् । श्रेष्ठ भन्नुहुन्छ, “कतिपय अवस्थामा महिला आफ्ना श्रीमान्ले दोस्रो विवाह गरेको भन्दै आउँछन् तर हामीले अनुसन्धान गर्दा विवाह नभई सँगै बसेका हुन्छन् ।” श्रीमान–श्रीमतीको झगडामा पहिले श्रीमान् पीडक र श्रीमती पीडित हुन्थे । अहिले श्रीमतीबाट श्रीमान् पीडित भएका केही घटना प्रहरीसम्म आइरहेका छन् । साउनदेखि यता परिसरमा घरायसीबाहेक अरु झैझगडाका १४२ मुद्दा प्रहरीसम्म आएका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलवार ११:४८