भारतले रोक्याे प्याज निर्यात, २५ प्रतिशतले बढ्यो नेपालमा मूल्य
३० भदौ, काठमाडौंँ । भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपालमासमेत प्याज पाइनै छाडेको छ । भारत सरकारले प्याज निर्यातमा रोक लगाएको भोलिपल्टै मंगलबार नेपालमा सुकेका प्याजको मूल्य २५ प्रतिशतले बढेको छ। कालीमाटी तरकारी तथा फलफूल बजारको थोक मूल्यसूचीअनुसार आज सुकेको प्याजको मूल्य किलोमै १५ रुपैयाँले बढेको हो। योसँगै आज सुकेको प्याजको मूल्य प्रतिकिलो ७५ रुपेयाँ कायम भएको छ।
सोमबारको थोक मूल्यसूचीअनुसार सुकेको प्याजको मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको थियो। यसरी थोक मूल्यमै २५ प्रतिशत बढेपछि खुद्रा मूल्य झनै बढेको स्पष्ट हुन्छ। काठमाडाैँका बजार र पसलैपिच्छे सुकेका प्याजको मूल्य फरकफरक हुने गरेको छ।

मूल्य बढेकाे उल्लेख गर्दै भारत सरकारले सोमबारमात्र प्याज निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। भारतमा प्याजको मूल्य बढिरहेको छ, तर घरेलु बजारमा मागअनुसार प्याजको उपलब्धतामा निकै कमी देखिएको छ । यो कमी मौसमी हो, तर कोभिड १९ महामारीको दौरान पछिल्ला केही महिनाहरुमा भारतबाट निकै ठूलो परिमाणमा प्याजको निर्यात भएको समाचार उल्लेख गरिएको छ।
नेपालमा खपत हुनेमध्ये ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ। नेपालको स्वदेशी उत्पादनले १५ दिनको मागलाई पनि धान्न धौ पर्छ। यसरी भारतले निर्यात प्रतिबन्ध लगाउँदा नेपालमा चाडपर्वको मुखमा प्याजको हाहाकार मच्चिने देखिएको छ।
प्रकाशित मिति : September 15, 2020 at 10:38 am



