११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

धादिङमा ब्यारेकका २७ सहित ३१ जनामा काेराेना संक्रमण पुष्टि

२८ भदौ, धादिङ । जिल्लामा आज ३१ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । त्रिपुरासुन्दरी गाउँपलिकामा तीन र गल्छी गाउँपलिकामा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । गल्छीका २१ वर्षका तीन, २० वर्षका चार, ३० वर्षका तीन, ३५ वर्षका चार, १९ वर्षका दुई, ३४ वर्षका दुई, २७ वर्षका दुई, ३३ वर्षका दुई, ३६ वर्षका दुई, २६, ३८, ३७ र २२ वर्षका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य संयोजक रामप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

गल्छीका २८ जना कोरोना सङ्क्रमण भएकामध्ये बैरेनीमा रहेको श्री नं ६ बाहिनी अड्डा (सेनाको ब्यारेक)मा कार्यरत २७ र एकजना गल्छी–६ निवासी रहेको ज्ञवालीले बताउनुभयो । सेनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि ब्यारेकबाट बाहिर जान रोकिएको छ । यसअघि सो ब्यारेकका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनीहरुको कन्ट्याक टे«सिङको आधारमा गरिएको परीक्षणमा धेरै जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी त्रिपुरासुन्दरी–२ का ४६ र ३६ वर्षीय पुरुष र २५ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको त्रिपुरासुन्दरी गाउँपालिका स्वास्थ्य संयोजक यमबहादुर श्रेष्ठले जानकारी दिनुभयो । त्रिपुरासुन्दरीबाट ४३ जनाको स्वाब कोरोना परीक्षणका लागि पठाइएकामा आठ जनाको रिपोर्ट पोजिटिभ आएको थियो ।

आठमध्ये तीनजना नयाँ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको हो भने पाँचजना यसअघि नै कोरोना परीक्षण गर्दा पोजिटिभ आएका र १४ दिनपछि पुनः परीक्षणका लागि पठाउँदा पोजिटिभ आएको स्वास्थ्य संयोजक श्रेष्ठले बताउनुभयो ।

त्रिपुरासुन्दरी गाउँपालिका तीनजना नयाँसहित २१ जना कोरोना सङ्क्रमित आइसोलेसनमा राखेर उपचार गरिरहेको गाउँपालिकाले जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि भएकाहरु कसैलाई पनि लक्षण नदेखिएको र सबैलाई आइसोलेसनमा राखिएको धादिङ स्वास्थ्य कार्यालयले जनाकारी दिएको छ ।

प्रकाशित मिति : September 13, 2020 at 5:57 pm