अवैध लागूऔषध सहित धादिङका ३ र काठमाडाैँका १ जना पक्राउ
२८ भदाै, काठमाडाैँ । टोखा नगरपालिका-९ शिवमन्दिरस्थित पशुपति गेष्ट हाउसको कम्पाउण्डबाट करिब १ केजी लागूऔषध चरेस जस्तो देखिने पोल्यान सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धादिङ थाक्रे गाउँपालिका-३ घर भई काठमाडौँ बल्खु बस्ने ४२ वर्षीय सानु कान्छा तामाङ र थाक्रे गाउँपालिका-२ घर भई हाल बल्खु बस्ने २३ वर्षीय दिल कुमारी तामाङ छन् । लागूऔषध कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उक्त वस्तु सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू आनन्दकुटी बिहारस्थित सडकबाट करिब १० केजी लागूऔषध गाँजा सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा चन्द्रागिरी नगरपालिका-१३ पुरानो नैकाप घर भएका २२ वर्षीय सुवर्ण पौडेल र धादिङ थाक्रे गाउँपालिका-५ घर भई हाल काठमाडौँ महानगरपालिका-१४ कलंकी ढुङ्गेअड्डा बस्ने २७ वर्षीय सागर लामा छन् ।
विषेश सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बा.२ ज ५७०९ नम्बरको ट्याक्सीमा सवार पौडेलले काखमा बोकेको कार्टुनभित्र उक्त गाँजा फेला पारी ट्याक्सीमा सवार लामालाई समेत पक्राउ गरेको हो ।
प्रकाशित मिति : September 13, 2020 at 2:42 pm



