१० पुष २०८१, बुधबार | Wed Dec 25 2024

पर्यटकको उद्धारको नाममा ठगी गर्नेको सूची तयार गर्न कार्यदल, टानका पदाधिकारीसमेत तानिदै

–दुर्गा पुडासैनी
२२ जेठ, काठमाडौँ । पर्यटकहरुको उद्धारको नाममा ठगी गरी पर्यटन व्यवसायलाई बद्नाम गराउनेहरु कारबाहीको दायरामा आउने भएका छन । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुको उद्धारको नाममा ठगी गर्नेलाई कारबाहीको दायरामा ल्याउने घोषणा गरेको करिब एक साताको बीचमा मन्त्रालयले सोमबार अनुसन्धान, छानविन र आवश्यक कारवाहीको सिफरिस गर्न कार्यदल गठन गरेको छ ।

पाँच सदस्यीय समितिमा मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई संयोजक तोकिएको छ । उनी मन्त्रालयका प्रवक्ता समेत हुन । त्यस्तै कार्यदलको सदस्यहरुमा पर्यटन विभागका महानिर्देशक कोषनाथ अधिकारी, नेपाल प्रहरीका डिआइजी मनोज न्यौपाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सुभाष झा र मन्त्रालयका उपसचिव प्रकाश शर्मा ढकाल छन । ढकाललाई कार्यदलको सदस्य सचिवको जिम्मेवारी तोकिएको छ ।

पर्यटकहरुलाई लेक लाग्ने लगायतका स्वास्थ्य समस्या तथा अन्य विपतको उद्धारको नाममा ट्रेकिङ, ट्राभल्स कम्पनी, हेलिकप्टर सेवा प्रदायक संस्था र अस्पताल समेतको मिलेमतोमा फर्जी विवरण तयार गरी बीमा रकम दाबी गर्ने र ठगी हुने गरेको छ । यसअघि नै ठगीमा परेका केही पर्यटकको सूचनाको आधारमा ट्रिप एडभाइजरीको कालोसूचीमा परेका केही कम्पनी र तीनका सञ्चालकले नयाँ कम्पनी खोलेर उस्तै धन्दा चलाइरहेका छन ।

स्रोतका अनुसार नेपाल पर्यटन बोर्डका पूर्व सदस्य र टानका वर्तमान र पूर्व कार्यसमितिका केही पदाधिकारी नै यसमा तानिने देखिएको छ । चार वर्ष पर्यटकहरुलाई लेक लाग्ने लगायतका स्वास्थ्य समस्या तथा अन्य विपतको उद्धारको नाममा ठगी गरेर कमाएको पैसाले अहिले होटल व्यवसायी बनेका र युवा पर्यटन व्यवसायी भन्दै राजनीतिक नेताको दैलो चहार्नेहरु कार्यदलको पहिलो निशानामा पर्ने बुुझिएको छ ।

दैनिकीलाई प्राप्त सूचना अनुसार आफूलाई अब्बल पर्यटन व्यवसायी भन्न रुचाउने एक जनाले २० पटकसम्म विपतको उद्धारको नाममा ठगी गरेको पाइएको छ । टानको वर्तमान कार्यसमितिका एक सदस्य भन्छन ‘हामीले पत्रकार सम्मेलन नै गरेर यस विषयमा सार्वजनिक गर्ने तयारी गरेका थियौँ । तर, सरकारले नै कार्यदल बनाएपछि हामी सूचना उपलब्ध गराएर सहायोग गर्नेछौँ ।’

पर्यटन क्षेत्रमा रहेका यस्ता विकृतिको विरुद्धमा सबैले कार्यदललाई सूचना दिएर सहयोग गर्न सक्ने कार्यदलले जनाएको छ । सूचना तथा जानकारीका लागि कार्यदलको इमेल [email protected] मा सम्पर्क गर्न सकिनेछ । कार्यदलले १५ दिनमा आफ्नो प्रतिवेदन तयार पार्ने समय पाएको छ ।

मन्त्रालयको विज्ञप्ति 

प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलवार ०५:५१