काठमाडौँ उपत्यकामा कुन बार कुन पसल खोल्न पाइने ?(विवरणसहित)
२४ भदौ, काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र बार अनुसार व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइने भएको छ । सार्वजनिक सूचनाअनुसार औषधि र पानीजन्य व्यवसाय चौविसै घण्टा सञ्चालन गर्न पाउने पुरानै व्यवस्थालाई कायम राखिएको छ । अन्य खाद्यवस्तु, दुध, तरकारी फलफूल, माछामासुका व्यवसाय विहान ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाउने छन् । यसअघि उक्त व्यवसाय साँझमा रोक लगाइएको थियो ।
तोकिएको मापदण्ड प्रयोग गर्दै विकास निर्माणसम्बन्धी पसल, व्यवसाय तथा ढुवानीका लागि सञ्चालन हुने छोटो दूरीका सवारी साधन मध्याह्न १२ बजेदेखि साँझ सात बजेसम्म सञ्चालन गर्न पाइने छ । सहकारी संस्थाहरु ११ देखि ३ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । सपिङ् मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसललगायतका पसल सोमबार, बुधबार र शनिबार मात्रै खोल्न पाइने छ । भाँडा, भान्साजन्य र सोही प्रकृतिका अन्य पसल आइतबार, मंगलबार र शुक्रबार सञ्चालन हुने छन् । फर्निचर र अटो मोवाइलसम्बन्धी पसल सोमबार र बुधबार मात्रै खोल्न पाइनेछ ।

फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी, ईलेट्रिकल्स, इलेक्ट्रोनिक्स, डिपार्टमेन्टल स्टोर विहान ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म खोल्न सकिनेछ । सवारी साधन सम्बन्धी वर्कसप विहान ८ देखि राति ८ सम्म सञ्चालन हुनेछ । टेक–अवे सेवा तथा होमडेलिभरी सेवा भने दिउँसो १२ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । उद्योग कलकारखाना सञ्चालन गर्दा कामदार र कर्मचारीलाई आयोजनास्थलमै बस्ने, खाने व्यवस्था मिलाउन भनिएको छ । यस्तै स्वास्थ्य मापदण्ड पालना गरी अनलाईनन कक्षा र त्यस्ता सेवासँग मिल्ने सेवाहरु सञ्चालन गर्न सकिने छ । विदेश जाने व्यक्तिलाई आवागमनमा सहजीकरण गरिने छ ।
स्वाब परीक्षण गराएका व्यक्तिहरु रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमा बस्नुपर्नेछ । कन्टयाक्ट ट्रेसिङमा परेका व्यक्तिसमेत स्वाब परीक्षण गरेका व्यक्तिको रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमा बस्नुपर्ने छ । अत्यावश्यक वस्तु वा सेवा अन्तरगत पर्ने औषधि, खाद्यवस्तु, ईन्धन, खाना पकाउने ग्याँस, तरकारी फलफूल दुध, विद्युत, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आईसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने विरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने छ । बैंक वित्तीय संस्था नेपाल राष्ट्र बैंकको मापदण्डअनुसारसञ्चालन हुने जनाइएको छ । उपत्यकामा भदौ ४ गतेदेखि निषेधाज्ञाको आदेश लागू गरिएको थियो ।
प्रकाशित मिति : September 9, 2020 at 7:36 pm



