११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

स्वास्थ्य उपकरणको प्रयोग गर्दै व्यवसाय सञ्चालनको वातावरण बनाउन नाडाको आग्रह

२२ भदौ, काठमाडौँ । अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले स्वास्थ्य उपकरणको प्रयोग गर्दै व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह गरेको छ । नाडाले सरकारसँग कोरोना सङ्क्रमणबाट बच्न सुरक्षात्मक उपायको कडाइका साथ पालन गराउँदै उद्योग व्यवसाय सञ्चालन गर्न प्रेस विज्ञप्तिमार्फत आग्रह गरेको हो ।

‘जनता स्वयं आफ्नो दुःख पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावना बढी भएको छ, यस्तो विकट स्थिति आउनुअघि नै सरकारले हाल जारी गरिएको निषेधाज्ञाबारे पुनर्विचार गर्न अनुरोध गरिएको हो’, विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनका कारण देशको अर्थतन्त्रलाई धराशायी बनाउने मात्र नभई बेरोजगारीको भयावह समस्यासमेत उत्पन्न भएको छ ।’

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बेरोजगारीको समस्या सरकारले सम्बोधन गर्न नसकेको जनाउँदै निषेधाज्ञाको अवधि थपिँदै जाँदा अरु भयावह हुने अवस्था सिर्जना हुन सक्ने चेतावनी दिनुभएको छ । “बन्दाबन्दीको समयमा अटोमोबाइल व्यवसायीहरु ठूलो मारमा परेका छन्, आफ्नो उद्योग व्यवसायबाट नै वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ”, विज्ञप्तिमा भनिएको छ, “अब अति भयो, समयलाई बुझेर संसारलाई नियालौँ र अब काम गरौँ ।”

प्रकाशित मिति : September 7, 2020 at 6:35 pm