११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

कोरोना भाइरसलाई हल्का ढङ्गले नलिऔँः उपप्रमुख आचार्य

२२ भदौ, रुपन्देही । बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले कोरोना भाइरस सङ्क्रमणलाई हल्का ढङ्गले नलिन नगरवासीलाई आग्रह गर्नुभएको छ । कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेर निस्किनुभएका बुटवल –१३ जीतगढीका रुद्रप्रसाद आचार्यको परिवारलाई आज डिस्चार्ज पत्र प्रदान गर्दै उपप्रमुख आचार्यले कोरोना रोकथामका लागि सजग र सचेत बन्न सबैलाई आग्रह गर्नुभयो ।

“कोरोना भाइरस सङ्क्रमण भयो भने सोचेजस्तो सहज हुँदैन, यो सङ्क्रमितहरुले अनुभव गर्नुभएको छ । त्यसैले सावधानी अपनाउन जरुरी छ । ”उच्च मनोबल राखेर कोरोनाविरुद्ध लड्नुभएका आचार्य परिवारलाई बधाई दिँदै उहाँले सङ्क्रमितलाई माया र हौसला दिएर वडाले प्रशंसनीय काम गरेको उल्लेख गर्नुभयो ।

उपप्रमुख आचार्यले सङ्क्रमण नहोस् भनेर सावधानी अपनाउँदा अपनाउँदै पनि कोरोना लाग्न सक्ने भएकाले आफन्त, छिमेकी र टोलवासीले सहयोग र सहकार्यको भावना राख्नुपर्ने बताउनुभयो । बेलबोट टोल समितिका अध्यक्ष विष्णु केसीले अहिले कोरोना सङ्क्रमणका समयमा मात्र नभई टोलवासीलाई परेका कुनै पनि समस्यामा सबै एकजुट भएर साथ दिने गरेको बताउनुभयो ।

कोरोना सङ्क्रमण निको भए पनि समाजमा घुलमिल हुन गाह्रो नहोस् भन्ने उद्देश्यले स्थानीयवासीले सामाजिक दूरी कायम गरी आचार्य परिवारलाई पुष्पगुच्छासहित स्वागत गरेको सामाजिक अगुवा दीपक पन्थीले जानकारी दिनुभयो । समुदायस्तरमा कोरोना भाइरस सङ्क्रमण बढेसँगै कोरोना सङ्क्रमितलाई छिमेकी र आफन्तले फरक व्यवहार गरेका गुनासा आइरहेका बेला बुटवलमा भने होम आइसोलेशनमा बसेर निस्किएको परिवारलाई पुष्पच्छासहित बधाई तथा शुभकामना दिने गरिएको छ ।

शनिबार बुटवल–११ नहपुरका तारा अर्यालको परिवारलाई पनि पुष्प गुच्छासहित शुभकामना दिइएको थियो । कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेर निस्किएका अर्याल परिवारलाई वडाध्यक्ष रामचन्द्र क्षेत्रीले डिस्चार्ज पत्र प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति : September 7, 2020 at 4:03 pm