११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

विप्लव समूहका नेता विरही अस्पतालबाटै पक्राउ

२० भदाै, भरतपुर । नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै गिरफ्तार हुनुभएको छ । भरतपुर अस्पतालमा उपचाररत उहाँलाई प्रहरीले आज अपराह्न गिरफ्तार गरेको छ ।

उहाँलाई भरतपुर अस्पतालले डिस्चार्ज गरेसँगै प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले धनुषामा विरहीविरुद्ध मुद्धा भएकाले नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्पतालले डिस्चार्ज गरेसँगै नियन्त्रणमा लिएका हौँ, उहाँलाई धनुषा पठाउँछौं ।”

जिल्ला प्रहरी कार्यालयको भ्यानमा राखेर उहाँलाई प्रहरी कार्यालय पुर्याइएको छ । धनुषा प्रहरीसँग समन्वय भइरहेकाले विरहीलाई धनुषा नै पठाइने प्रवक्ता थापाले जानकारी दिनुभयो । नेता विरही वैशाखदेखि नै भरतपुर अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । घरमा काम गर्दा लडेपछि ढाडमा समस्या हुँदा विरही उपचारका लागि पुरानो मेडिकल कलेज आउनुभएको थियो । सोही बेला उहाँलाई प्रहरीले नियन्त्रणमा लिएर सो अस्पताल पुर्याएको थियो । नेता विरही चन्द समूहका प्रभावशाली नेताका रुपमा चिनिनुहुन्छ ।

प्रकाशित मिति : September 5, 2020 at 11:09 pm