निषेधाज्ञा उल्लघंन गर्दै रथ तान्न निस्किएकाकाे भिडद्धारा ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट
१८ भदाै, काठमाडाैँ । कोरोना भाइरस फैलिन नदिन जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा उल्लघंन गर्दै ललितपुरको पाटन क्षेत्रमा बिहीबार सुरु गरिएकाे राताे मच्छिन्द्रनाथको रथयात्राका क्रममा झडप भएकाे छ । निषेधाज्ञा उल्लघंन गर्दै त्यस क्षेत्रमा प्रदर्शनमा उत्रिएको युवाहरुको समूहले मच्छिन्द्रनाथको रथलाई बिहान ११ बजेपछि तान्दै पुल्चोकक्षेत्रमा ल्याइपुर्याएपछि अवस्था तनावपूर्ण बनेको हो।
रथ तान्न भन्दै करिब एक हजार मानिस सडकमा निस्किएपछि पुगेको प्रहरी र प्रदर्शनकारीबीच दिउँसो एक बजेदेखि तनाव सुरु भएको थियो। पुच्चोक क्षेत्रमा वाटर क्याननसहित पुगेको प्रहरीमाथि प्रदर्शनकारीले इँटा र ढुंगा बर्साए। उनीहरुले एकजना ट्राफिक प्रहरी जवान सवार मोटरसाइकलमा आगो लगाएर सवारी व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरी जवान ३० वर्षीय कमल प्रसाद घिमिरेमाथि निर्घात कुटपिट गरे।

उनलाई सडकमै चारैतिरबाट घेरेर लछारपछार पारे। कसैले लडाए, कसैले लात्ती र मुक्का बर्साए। अन्तिममा केही स्थानीय र त्यहाँ तैनाथ प्रहरीले उनलाई घाइते अवस्थामा उद्धार गरी अल्का अस्पताल पुर्याए। कुटपिटबाट घिमिरेको टाउको, हात-खुट्टा, र ढाडमा चोट लागेको अल्का अस्पतालले जनाएको छ।
तनाव भइरहेको अवस्थामा सवारी व्यवस्थापनमा खटिएका घिमिरे मोटरसाइकलमा त्यस क्षेत्रमा पुगेका थिए। प्रदर्शनकारीले उनी सवार बा २ ब ७२४२ नम्बरको मोटरसाइकलमा आगो लगाइदिए। मोटरसाइकल सडकमै खोसेर आगो लगाउने समूह नै उनलाई अन्धाधुन्ध कुटपिटमा उत्रिएको हो। आगजनीबाट उनी सवार मोटरसाइकल जलेको छ।
प्रकाशित मिति : September 3, 2020 at 6:37 pm



