११ पुष २०८१, बिहीबार | Fri Dec 27 2024

चितवन शक्तिखोरमा विप्लव समूहले चुनाखानीको एक्साभेटर जलायो

१९ जेठ, चितवन । पूर्वी चितवनको कालिका नगरपालिकास्थित शक्तिखोरको कोलारमा सञ्चालित चुनाखानीमा प्रयोग हुँदै आएको एउटा एक्साभेटरमा विप्लव समूहले आगो लगाएको छ ।

शक्तिखोर बजार नजिकै सम्फ¥याङमा राखिएको एक्साभेटरमा आज बिहान करीब ४ बजेतिर आगो लगाइएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगो लगाएका हुन् ।

गाडीमा केही जल्ने वस्तु राखेर चालक बस्ने भागमा आगो लगाएको र आगलागीबाट मेसिनको भाग जलेको छ ।

घटनास्थलमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चा फेला परेको उनले जानकारी दिए । स्टार लाइम कम्पनीले यहाँको कोलारबाट चुनाखानी उत्खनन गरी सो ठाउँमा ल्याएर राख्ने र त्यहाँबाट एक्साभेटरको सहयोगमा गाडीमा लोड गरेर पठाउँथ्यो ।

घटनास्थलमा जिल्ला जनपरिषद् चितवनको नाममा पर्चा फेला परेको र सो पर्चामा कम्पनीले शक्तिखोरका जनतासँग गरेको सहमति कार्यान्वयन नभएकाले कारवाही गरिएको उल्लेख छ ।

खानेपानी व्यवस्थापन, खोलाको तटबन्ध, सडक निर्माण, चुनाखानी माथिको बस्ती संरक्षण र उपरदाङगढीको संरक्षण नगरेको आरोप लगाएको पाँचबुँदे पर्चा भेटिएको ढकालले बताए ।

प्रकाशित मिति : १९ जेष्ठ २०७५, शनिबार १२:१०