२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

भर्चुअल राष्ट्रिय खुला तेक्वान्दोमा मुलपानी टिम च्याम्पियन

१५ भदौ, काठमाडौँ । मुलपानी तेक्वान्दो डोजाङ ‘प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगिता’को च्याम्पियन बनेको छ । तीन स्वर्ण, तीन रजत तथा पाँच कास्य पदकसहित मुलपानी च्याम्पियन बनेको हो । काठमाडौं जिल्ला तेक्वान्दो सङ्घद्वारा आयोजित उक्त प्रतियोगितामा एक स्वर्ण, दुई रजत र एक कास्य पदकका साथ चितवन दोश्रो तथा एक स्वर्ण, एक रजत र एक कास्य पदकका साथ कैलाली तेस्रो भएको छ । प्रतियोगितामा कूल ११ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

यस्तै प्रतियोगितामा स्युचाटार, सैनिक महाविद्यालय, विजेश्वरी मावि, नेपाल प्रहरी, नेपाली सेना र रुपन्देहीले एक÷एक स्वर्ण पदक प्राप्त गरेको आयोजक सङ्घका अध्यक्ष अशोक खड्काले जानकारी दिनुभयो । प्रतियोगितामा यु–१८ पुरुष एकलतर्फ १३औँ दक्षिण एसियाली खेलकुद (साग) का कास्य पदक विजेता अस्मिन राउतले स्वर्ण जित्नुभयो । उहाँले ६ दशमलव ५३ अङ्क प्राप्त गर्नुभयो । चितवनका अब्बास खानले ५ दशमलव ९६ अङ्कका साथ रजत तथा चितवनकै सागर बरालले ५ दशमलव ८३ अङ्क र कैलालीका लक्ष्मण श्रेष्ठले ५ दशमलव ६३ अङ्क प्राप्त गर्दै कास्य पदक पाउनुभयो ।

यस्तै यु–१८ महिला एकलतर्फ नेपाली सेनाकी रोशनी श्रेष्ठले ६ दशमलव ५० अङ्क प्राप्त गर्दै स्वर्ण जित्नुभयो । चितवनकी जैनब खातुनले ६ दशमलव २० अङ्कका साथ रजत तथा मुलपानीकी अस्मिता नगरकोटीले ६ दशमलव १३ अङ्क र सुनसरीकी सुदेशना गुरुङले ५ दशमलव ७६ अङ्क ल्याइ कास्य पदक प्राप्त गर्नुभयो । यसैगरी यु–३१ पुरुष एकलतर्फ नेपाल प्रहरीका प्रेमबहादुर लिम्बूले ६ दशमलव ७३ अङ्क प्राप्त गर्दै स्वर्ण पदक जित्नुभयो । उहाँ १३ औं सागको कास्य पदकधारी समेत हुनुहुन्छ ।

सागका कास्य पदकधारी नेपाली सेनाका दीपेन्द्र गुरुङले ६ दशमलव ५० अङ्कका साथ रजत तथा मुलपानीका पुष्पप्रसाद गौतम ६ दशमलव २० अङ्क र दोलखाका नोर्बु मोक्तान ५ दशमलव ९६ अङ्कका साथ कास्य पदक प्राप्त गर्नुभयो । यु–३१ महिला एकलतर्फ १३औं सागका स्वर्ण पदक विजेताद्वय निता गुरुङ र सन्जिला तिम्सिनाबीच कडा प्रतिस्पर्धा भएको थियो । सेनाकी निताले ६ दशमलव ७० अङ्कसाथ स्वर्ण तथा स्युचाटारकी सन्जिलाले ६ दशमलव ५६ अङ्कसाथ रजत प्राप्त गर्नुभयो । सो स्पर्धामा मुलपानीकी चन्दु शाहीले ६ दशमलव १६ अङ्क र दाङकी सुनिता विष्ट ५ दशमलव ४३ अङ्क ल्याइ कास्य पदक प्राप्त गर्नुभयो ।

यसैगरी पुरुष ४१ वर्षमाथिको उमेर समूहमा मुलपानीका मधुसुदन सापकोटाले ५ दशमलव ९० अङ्क प्राप्त गर्दै स्वर्ण जित्नुभयो । कैलालीका आशिष चन्दले ५ दशमलव ६० अङ्क ल्याइ रजत तथा रुपन्देहीका विकास उदयले ५ दशमलव ४६ अङ्क र गैरीगाउँका सोभितमान गिरीले ५ दशमलव ४६ अङ्क ल्याइ कास्य पदक प्राप्त गर्नुभयो ।

आयोजक सङघका अध्यक्ष खड्काका अनुसार उक्त प्रतियोगितामा १९ टोलीका १७० खेलाडीको सहभागिता थियो । प्रतियोगितामा अशोक खड्का, मिन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार १२:३०