११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

कालिकोट पहिरो अपडेटः १० जनाको मृत्यु, २ अझै बेपत्ता

१५ भदौ, खलङ्गा । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मका चार घर भत्किँदा एकै परिवारका चारसहित १० जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता छन्  । घटनास्थलबाट उद्धार गरिएका दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको छ । नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन आइतबार बिहान सात बजेतिर भासिएर पहिरो जाँदा घरभित्रै रहेकाहरू पुरिएका हुन् ।

पहिरोले लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका घर भत्किँदा पुरिएकामध्ये १० को शव राति ७ बजेतिर फेला परेको हो । शुभकालिका गाउँपालिका–७ घर भई नाग्म बजारमा व्यापार गर्दै आएका एकै परिवाका चार जनाको मृत्यु भएको छ । चालीस वर्षीय प्रयाग शाही, उनकी सात वर्षीया छोरी हिमा तथा छोराहरू पाँच वर्षका नीराजन र डेढ महिनाका अक्कलको घर भत्किएर भित्रै च्यापिँदा मृत्यु भएको हो ।

यस्तै सुर्खेतको भेरीगङ्गा–१० की ४५ वर्षीया आइती खड्का, वीरेन्द्रनगरका २३ वर्षीय अमृत थापा, स्थानीय ३५ वर्षीय मनवीर बडुवाल, २७ वर्षीय टेक भेरिकार, २४ वर्षीय थाइला भेरिकार, १० वर्षीय गजेन्द्र भेरिकारको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले बताउनुभयो । बेपत्ता रहेका दुई जनाको नाम खुलिसकेको छैन ।

जीवितै उद्धार गरेर अस्पताल पठाइएका अर्जुन हमाल र पुन्नी शाहीको अवस्था सामान्य रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । कालीकोट र जुम्लाको सिमानामा पर्ने नाग्म तिलागुफा नगरपालिका जुम्लाको हिमा र तिला गाउँपालिकाको व्यापारिक केन्द्र हो । स्थानीय प्रशासनले भदौ २० गतेसम्म निषेधाज्ञा जारी गरेकाले बिहान पहिरो जाने बेला सबै घरभित्रै भएको हुनसक्ने स्थानीयावासी जयबहादुर शाहीले बताउनुभयो ।

प्रकाशित मिति : August 31, 2020 at 9:55 am