कोरोना संक्रमणबाट उपत्यकामा ६ सहित थप १२ जनाको मृत्यु, मृतक २०७ मध्ये कुन उमेरका कति ?
-प्रतिमा ढुंगाना
१३ भदाै, काठमाडाैँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भएका १२ व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गाैतमका अनुसार पछिल्लो पटक थप १२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
शनिबारको नियमित प्रेस ब्रिफ्रिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना पुष्टि भएका ३ महिला र ९ पुरुष संक्रमितको मृत्यु भएको जानकारी दिनुभयो । मृतक मध्ये ६ जना काठमाडाैँ उपत्यकाका रहेका छन । यो सँगै कोरोना संक्रमितको मृत्युको संख्या २०७ पुगेको छ ।

अहिलेसम्म मृत्यु भएका मध्ये ४१ देखि ५० वर्ष उमेर समूहका व्यक्तिको बढी मृत्यु भएको छ । २०७ मध्ये ४३ जना सो उमेरसमूहका रहेका छन । स्वास्थ्य मन्त्रालयका अनुसार १० वर्ष मुनीका दुइ बालक र दुइ बालिका गरी चार जनाको मृत्यु भएको छ । त्यस्तै ११ देखि २० वर्ष उमेर समूहका ५ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका १० जना, ३१ देखि ४० वर्ष समूहका २० जना ४१ देखि ५० वर्ष उमेर समूहका ४३ को कोरोना संक्रमणको कारण मृत्यु भएको छ । त्यस्तै ५१ देखि ६० वर्ष उमेर समूहका ४० जना, ६१ देखि ७० वर्ष उमेर समूहका ४२ जना, ७१ देखि ८० वर्ष उमेर समूहका २७ जना र ८० वर्ष भन्दा माथिका १४ जना रहेका छन । अहिलेसम्म मृत्यु भएका २०७ जना मध्ये १५३ पुरूष र ५४ जना महिला रहेका छन ।
प्रकाशित मिति : August 29, 2020 at 5:02 pm



