११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

फिल्डमा खटिने पत्रकारको पीसीआर टेष्टको व्यवस्था गर्न माग

१२ साउन, काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सङ्क्रमणको उच्च जोखिमबीच फिल्डमा खटिने सञ्चारकर्मीको निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन र पत्रकारको उपचारको उचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज जारी गरेको प्रेस विज्ञप्तिमा सो माग गरिएको छ ।

“सङ्क्रमितमध्ये केही निको भइसकेका छन्, केही उपचाररत अवस्थामा रहेका छन्, महासङ्घ उपचाररत सबै पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “यो विषम परिस्थितिमा सङ्क्रमणको उच्च जोखिमबीच अग्रभागमा रहेर नेपाली सञ्चार क्षेत्रले निर्वाह गरिरहेको भूमिका सराहनीय छ, विशेषगरी फिल्डमा खटिने सम्बाददाता, फोटो पत्रकार र क्यामेरा पर्सन सङ्क्रमणको उच्च जोखिममा छन् ।”

सांकेतिक तस्विर

महामारीको यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा सम्वेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न महासङ्घले आम पत्रकार तथा सञ्चारकर्मीमा अपिल गरेको छ । कोभिड–१९ को सङ्क्रमण नेपालमा दिनप्रतिदिन तीव्ररुपले बढिरहेको छ ।

पछिल्लो समय सङ्क्रमणको दर वृद्धि भएसँगै यो महामारीबाट नेपाली सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुगेको छ । महासङ्घमा अभिलेख भएअनुसार उच्च जोखिमबीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाहका क्रममा अहिलेसम्म ७१ पत्रकार तथा सञ्चारकर्मी कोरोनाबाट सङ्क्रमित भएका छन् । सोमा केही पत्रकार महिलामा समेत सङ्क्रमण देखिएको छ । महासङ्घको अभिलेखअनुसार मलुकका सात प्रदेशमध्ये छ प्रदेशका पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित हुन पुगेका छन् ।

प्रकाशित मिति : August 28, 2020 at 5:39 pm