७ लाख हुण्डीको रकम र १४ तोला चोरीको सुन कारोबार गर्ने ३ जना पक्राउ
१८ जेठ, काठमाडौँ । महानगरीय प्रहरी वृत्त कालीमाटीले ७ लाख हुण्डीको रकम र १४ ताेला चोरीको सुन कारोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
वृत्तको टोलीले हुण्डीको कारोबार गर्दै गर्दा रौतहट घर भई हाल सानेपा बस्ने २४ वर्षीय दीपेशकुमार यादव र २४ वर्षीय राजनकुमार गुप्तालाई र भारत घर भई कालीमाटी बस्ने रोहित पटेललाई बिहीबार नियन्त्रणमा लिई आज सार्वजनिक गरेको छ । जसमध्ये यादव र गुप्ताले हुण्डीको कारोबार गरेको र पटेलले सुनको ढिक्का र डेढ किलो चाँदी कारोबार गरेको प्रहरीले जनाएको छ ।
यादव र गुप्तालाई पटेलले पैसा दिएको अनुसन्धानमा खुलेपछि प्रहरीले पटेललाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार २१:५३