१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

लक्षण नभएका र सामान्य अवस्थाका बिरामीलाई अस्पतालमा नराख्न स्वास्थ्य मन्त्रालयकाे निर्देशन

१० भदौ, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमितमा लक्षण नभएका र सामान्य अवस्था भए बिरामीलाई घर पठाउन निर्देशन दिएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र सबै कोभिड–१९ अस्पताललाई पत्र लेख्दै कोभिड–१९ का लक्षण नभएका र सामान्य अवस्थाका सङ्क्रमितलाई पिसिआर परीक्षण गरी बढीमा १४ दिनभित्र घर पठाउन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

“केन्द्रले कोभिड–१९ को लक्षण नभएको र सामान्य अवस्थाका बिरामीलाई १० दिनमा पिसिआर गरी डिस्चार्ज गरेर घर पठाउन निर्देशन दिएको छ”, उहाँले भन्नुभयो, “यही १० दिनमा सङ्क्रमण पुनः देखिएका १४ दिनभित्र पिसिआर परीक्षण नगरिकन डिस्चार्ज गर्न प्रदेश मन्त्रालयलाई र सबै कोभिड–१९ अस्पतालाई निर्देशन पुनः दिइएको छ ।”

मन्त्रालयले १४ दिनभन्दा बढी लक्षण नभएका र सामान्य अवस्थाका सङ्क्रमितका विरामीलाई अस्पतालमा नराख्न निर्देशन दिइएको हो । मन्त्रालयका प्रवक्ता डा. गौतमले १४ दिनभन्दा बढी राखेमा सरकारले सोध भर्ना नगर्नेसमेत जानकारी दिनुभयो । नेपालमा अहिलेसम्म ३४ हजार ४१८ जना सङ्क्रमित फेला परेकोमा १४ हजार ७३९ जना सक्रिय सङ्क्रमित रहेका छन् भने १९ हजार ५०४ जना निको भएर घर फर्किसकेका र १७५ जनाको सङ्क्रमणको कारणले निधन भइसकेको छ ।

प्रकाशित मिति : August 26, 2020 at 7:27 pm