सर्वोच्चको आदेशले छुटेलगत्तै चन्द समूहका केन्द्रीय सदस्य पुनः पक्राउ
९ भदौ, भोजपुर । नेत्रविक्रम चन्द नेतृत्व समूहका केन्द्रीय सदस्य तथा मध्यपश्चिम इन्चार्ज चन्द्रबहादुर चन्द साधारण तारेखमा रिहा भएलगत्तै पुनः पक्राउ पर्नुभएको छ । हातहतियार तथा साङ्गठानिक अपराधलगायत चार मुद्दामा पक्राउ पर्नुभएका चन्दलाई जिल्ला अदालत भोजपुरले रु ६० हजार धरौटीमा रिहा गर्ने फैसला गरे पनि धरौटी तिर्न नसकेपछि कारागार चलान गरिएको थियो ।

सर्वोच्च अदालतमा गैरकानुनी रुपमा कारागार चलान भएको भनी बन्दिप्रत्यक्षीकरणको रिट निवेदन परेपछि न्यायाधीश दीपक कार्की र प्रकाशमान सिंह राउतको आदेशमा बिनाधरौटी आज रिहा गरिएको जिल्ला अदालत भोजपुरले जनाएको छ । भोजपुरबाट रिहा हुनेबितिकै चन्दविरुद्ध संखुवासभा जिल्लामा पनि हातहतियार तथा साङ्गठनिक अपराधसम्बन्धी नै मुद्दा रहेकाले पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । चन्दलाई गत साउन १५ गते काभ्रेपलाञ्चोकबाट नियन्त्रणमा लिएर भोजपुर ल्याइएको थियो ।
प्रकाशित मिति : August 25, 2020 at 9:26 pm



