१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

सल्यानमा पहिरोले ३ घर बगायो, २५ परिवार विस्थापित

७ भदौ, सल्यान । जिल्लाको वागचौर नगरपालिका -­१२ बाफुखोलामा आएको अविरल वर्षाले ओखरेनी गाउँका २५ घर परिवार विस्थापित भएका छन् भने ओखरेनी गाउँमा पहिरोको उच्च जोखिममा परेपछि स्थानीयहरु विस्थापित भएर देउपुरीमा रहेको दुर्गा सरस्वती माविमा आश्रय लिइरहेका छन् । ओखरेनी गाउँमा तीन घर पहिरोले बगाएको र गाउँभरिमा सयाैँ स्थानमा पहिरो गएकाले स्थानीयहरु घर छोडेर विद्यालयमा बसेका छन् । यही भदौ ३ गते आएको वर्षाले पूरै गाउँमा पहिरो गएको छ ।

अहिले पनि घरभित्रबाटै पानीको मूल फुटेको, घरहरु भासिएको तथा घर वरिपरि पहिरो गएर घर पहिरामा पुरिने अवस्था भएकाले गाउँलेहरु विद्यालयमा बसेको स्थानीय वीरसिंह डाँगीले जानकारी दिनुभयो । “यस ठाउँमा सय वर्ष पहिले यस्तै खालको पहिरो गएको हो भन्ने सुनेका थियाैँ, आज आफ्नै आँखाले यस्तो विजोग देख्नुपर्यो”, उहाँले भन्नुभयो । पहिरोले विस्थापित भएको यतिका दिन बित्दा पनि राहत नपाएको उनीहरुको गुनासो छ । “विस्थापित भएर आएकाहरुसँग न त खाने कुरा छ, न लत्ताकपडा नै ल्याउन पाएका छन् ।

यस्तो अवस्थामा हामी कसरी बस्नु, अहिलेसम्म कतैबाट केही राहत पाएका छैनौं” स्थानीय पदम खत्रीले भन्नुभयो । वाफुखोलाको ओखरेनीमा पहिरोले ठूलो क्षति भएकाले तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको बागचौर नगरपालिका­ -१२ का वडाध्यक्ष दिपककुमार वलीले बताउनुभयो । “अहिले वडा कार्यालयमार्फत मुचुल्का तयार गर्ने काम भइरहेको र राहतका लागि पहल गरिनेछ”, उहाँँले भन्नुभयो । बाफुखोलामा रहेका करिब ५५० घरधुरीमध्ये अहिले ५० प्रतिशतभन्दा बढी पहिराको उच्च जोखिममा रहेका छन् ।

प्रकाशित मिति : August 24, 2020 at 12:52 pm