दुई थान पेस्तोलसहित नुवाकोटका अमर तामाङ र विकेश पण्डित पक्राउ (प्रहरीको विज्ञप्तिसहित)
४ भदौ, काठमाडौँ । दुई थान पेस्तोल र १० राउण्ड गोलीसहित नुवाकोटका २ जना युवक पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाका अनुसार काठमाडाैँकाे माछापोखरीबाट दुई वटा पेस्तोल, त्यसमा लाग्ने दुई म्यागजिन र १० राउण्ड गोली बरामद गरेको हाे । प्रहरीले उक्त प्रकरणमा संलग्न एक जनालाइ माछापोखरीबाट पक्राउ गरेकाे हाे भने अर्का व्यक्तिलाइ नुवाकोटबाट पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका–१ घर भएका २८ वर्षीय अमर तामाङ र नुवाकोटको शिखरवेसी–६ का विकेश पण्डित रहेका छन् । अमर तामाङले दिएको हतियार लिएर आउने क्रममा विकेश पण्डित माछापोखरीबाट पक्राउ परेका थिए । त्यसपछि अपराध महाशाखाले नुवाकोटमा टोली पठाएर तामाङलाई उनकै घरबाट पक्राउ गरेको हाे । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
प्रहरीको प्रेस विज्ञप्ति
“दुई थान पेस्तोल र दश राउण्ड गोली सहित दुई जना मानिस पक्राउ”
मिति २०७७।०५।०३ गते हातहतियारको ओसार पसार तथा कारोबार हुँदै छ भन्ने विशेष सूचनाको आधारमा अपराध महाशाखाबाट प्रहरी उपरीक्षक होबिन्द्र बोगटीको कमाण्डमा खटिएको विशेष टोलीले का.जि.का.म.न.पा. वडा नं. १६ माछापोखरीबाट जिल्ला नुवाकोट शिखरबेसी- ६ बस्ने बर्ष २७ को बिकेश पण्डितलाई Made in USA लेखेको पेस्तोल २ थान, म्यागजिन २ थान सो पेस्तोलमा प्रयोग हुने गोली १० राउण्ड सहित पक्राउ गरिएको र निजसँगको प्रारम्भिक सोधपुछको क्रममा उक्त हतियार ओसार पसार गराउन लगाउने व्यक्ति जिल्ला नुवाकोट लिपु गाउँपालिका- १ बस्ने बर्ष २८ को अमर तामाङलाई यस कार्यालयबाट प्रहरी निरीक्षक भोला कुमार भट्टको कमाण्डमा खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटसँग समन्वय गरी निजलाई लिपु, नुवाकोट निजको घरबाट पक्राउ गरी यस महाशाखामा ल्याई थप अनुसन्धान भइरहेको र आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको ।
प्रारम्भिक अनुसन्धानको क्रममा निज अमर सिंह तामाङ घले डाँका मुद्दामा ६ बर्ष २ महिना कैद सजाँय भुक्तान गरी मिति २०७६।११।१२ गते थुना मुक्त भएको र जेल बसाईको क्रममा उक्त हतियारको बारेमा जेलमा रहेको लागु औषध मुद्दामा सजाँय भोगी रहेका धादिङ खाल्टे घर भएका राजकुमार गुरुङले बालाजु एरियामा लुकाई छिपाई राखेको हतियार अपराधिक मनसायले बोक्ने तथा ओसार पसार गर्ने कार्य गरेको बुझिएको । घटनामा संलग्न अन्य ब्यक्तिको खोजतलास तथा सुक्ष्म अनुसन्धान भईरहेको ।
पक्रउ ब्यक्तिको विवरण:-
- जिल्ला नुवाकोट साबिक शिखरबेशी गा.बि.स. वडा नं. ६ परिवर्तित दुप्चेश्वर गा.पा. वडा नं. ७ घर भई हाल का.जिङ. नेपालटार शेषमती बस्ने बर्ष २७ को विकेश पण्डित ।
- जिल्ला नुवाकोट साविक खानिगाँउ गा.बि.स वडा नं. ३ परिवर्तित लिखु गाउपालिका वडा नं. १ घर भई बर्ष २८ को अमर सिंह तामाङ घले ।
बरामदी सामानको विवरण:-
- Made in USA लेखेको पेस्तोल थान-२ सूचना अधिकृत
- सो पेस्तोलमा प्रयोग हुने गोली १० राउण्ड प्रहरी उपरीक्षक – होबिन्द्र बोगटी
- म्यागजिन थान -२ मो.न.-९८५१२८१३२८
- मोबाईल थान-२
मिति २०७७।०५।०४ गते ।
प्रकाशित मिति : August 20, 2020 at 1:01 pm



