१० जेष्ठ २०८१, बिहीबार | Thu May 23 2024

राष्ट्रकवि घिमिरेः जसले पहिलो पटक लेखक पदमा २५ रुपैयाँ तलब लिएर काम गरे


२ भदाै, काठमाडाैँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनसँगै नेपाली साहित्यमा एउटा युगको अन्त्य भएको छ । राष्ट्रकवि घिमिरेलाइ हामीले गुमाए पनि आफ्ना कालजयी रचनामा भने उहाँ सदैव भेटिनुहुनेछ ।

स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार घिमिरेको जन्म विक्रम संवत १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । उहाँ बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा हुनुहुन्थ्यो ।

प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उहाँका लेखाइहरु दीर्घसाधनाले भरिएका छन् । घिमिरेले वि.सं. १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाउनु भएको थियो । उहाँको नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नर-किन्नरी (वि.सं. २०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित छन् ।

घिमिरे जन्मिएको तीन वर्षमा उहाँको आमाको निधन भएको थियो । उहाँ ६ वर्षको हुँदा अक्षर चिनेको उहाँले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गर्नुभएको थियो । ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा(लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उहाँले प्रथमा उत्तीर्ण गर्नुभएको थियो । त्यसपछिको अध्ययनका लागि उहाँ बनारस पुग्नु भएको थियो । घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गर्नुभएको छ ।

१४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकमा वि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गर्नुभएको घिमिरे वि.सं. २००५ सालमा गोरखापत्रमै सह-सम्पादकको जागिर पनि खानु भएको थियो । बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा र वि.सं. २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गर्नुभएको थियो । त्यसपछि २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य रहनुभएको थियो ।

वि.सं. २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न समेत हुनु भएका घिमिरे चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का रचनाकार हुनुहुन्छ । घिमिरे का अन्य चर्चित गीतहरूमा ‘फूलको थुङ्गा बगेर गयो’ (तारादेवी) तथा ‘आजै र राति के देखेँ सपना’ (नारायण गोपाल)ले गाएका छन् । उनी वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहनुभयो ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलवार १९:४३