बाढी पहिरोमा परी घाइते भएकाहरुको उपचार खर्च सरकारले बेहाेर्ने
२ भदाै, काठमाडाैँ । सरकारले सिन्धुपाल्चोक र कालिकोट लगायत देशका विभिन्न ठाउँमा बाढी पहिरोमा परी घाइते भएकाहरुको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपदका घटनामा परी मृत्यु भएका परिवारमा एकजनाको मृत्यु भएमा २ लाख र सोही परिवारमा अन्य व्यक्तिको मृत्यु भएमा प्रतिव्यक्ति एक लाखका दरले राहत सहयोग गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो ।

विपदबाट घरबहाल नष्ट भएका र खाद्यान्न बाली तथा जग्गा जमिन र पसल व्यवसाय समेत नष्ट भएकाहरुको हकमा प्रति ५ जानाको परिवारलाई १५ हजार रुपैयाँ र ५ जना भन्दा बढीको परिवार भएमा प्रति परिवार २० हजार रुपैयाँ सहयोग गर्ने निर्णय सरकारले गरेको उहाँले बताउनुभयो ।
घर पूर्ण रुपमा क्षति भएको र सुरक्षित स्थानमा नयाँ घर निर्माण गर्नुपर्ने अवस्था भएमा प्रति परिवार एक लाख रुपैयाँ सम्म आर्थिक सहयोग गर्ने निर्णय पनि सरकारले गरेको छ । घाइतेलाई अस्पतालमा उपचार गराउँदाको लागिलाग्ने खर्च र प्रतिव्यक्ति एक हजार रुपैयाँ बाटो खर्च र यातायात खर्च दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
प्रकाशित मिति : August 18, 2020 at 5:56 pm



