५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

डेमोक्र्याटिक पार्टीको अधिवेशन शुरु, सबै नेताको भर्चुअल सम्बोधन


२ भदौ, एटलान्टा । संयुक्तराज्य अमेरिकाको डेमोक्र्याटिक पार्टीको चारदिने अधिवेशन शुरु भएको छ । कोरोनाभाइरस महामारीबीच शुरु भएको यस अधिवेशनका सबै प्रमुख वक्ताले भर्चुअल सम्बोधन गर्नु हुनेछ । यस अधिवेशनले डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनलाई औपचारिक उम्मेदवार बनाउनेछ । बाइडेनले सम्मेलनको अन्तिम दिन आगामी बिहीबार आफ्नो गृहराज्य डेलावेयरबाट भर्चुअल सम्बोधन गर्नु हुनेछ । विगतमा प्राइमरी चुनावबाट विजयी प्रतिनिधिहरु, पार्टी समर्थक र पार्टीका विशिष्ट व्यक्तिको बाक्लो उपस्थितिबीच निकै तडकभडकका साथ हुने अधिवेशन यसपटक खल्लो छ ।

मिल्वाकीको सिटी सेन्टरलाई अधिवेशन स्थल तोकिए पनि त्यहाँ कोही पनि उपस्थित छैनन् । सम्मेलनको तेस्रो दिन अर्थात् बुधबार सम्मेलनले कमला ह्यारिसलाई उपराष्ट्रपति पदका लागि औपचारिक मनोनयन गर्नेछ । “हामी जनता (वी दी पिपल)” अमूर्त नाराका साथ शुरु भएको यस अधिवेशनमा नेताहरुले पार्टीका नीतिहरुमाथि बहस चलाउनेभन्दा राष्ट्रपति ट्रम्पका नीतिहरुको आलोचना गर्ने सम्भावना बढी छ  ।अधिवेशनमा राष्ट्रपतिका उम्मेदवार जो बाइडेन, उहाँले उपराष्ट्रपतिमा मनोनयन गर्नुभएकी कमला ह्यारिस, डेमोक्र्याटिक पार्टीका तर्फबाट विगतमा राष्ट्रपति रहनुभएका बाराक ओबामा र उहाँकी पत्नी मिसेल ओबामा, पूर्व राष्ट्रपति बिल क्लिन्टन र हिलारी क्लिन्टन, राष्ट्रपतिको उम्मेदवार होडमा रहनुभएका बर्नी स्यान्डर्स समेतका विशिष्ट व्यक्तिले सम्बोधन गर्नु हुनेछ ।

सम्मेलन आयोजकका अनुसार बुधबार पूर्वराष्ट्रपति बाराक ओबामा, पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन, सिनेटर एलिजाबेथ वारेनले सम्बोधन गर्नुहुनेछ भने त्यसअघि मंगलबार पूर्वराष्ट्रपति बिल क्लिन्टन र कंग्रेस सदस्य अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजले सम्बोधन गर्दै हुनुहुन्छ ।अधिवेशनमा रेकर्डेड तर भावुक मुद्रामा सम्बोधन गर्दै पूर्व राष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामाले राष्ट्रपति ओबामाको कार्यशैली अमेरिकी जनता र अमेरिकाका लागि घातक रहेको आरोप लगाउनुभएको छ ।

उहाँले विगतमा डोनाल्ड ट्रम्पलाई जिताएका मतदाताप्रति लक्षित गर्दै एउटा गल्तीका कारण आज हामीले त्यसको परिणाम भोगिरहेका छौं भन्नुभयो । उहाँले हिलारी क्लिन्टनले सन् २०१६ मा ट्रम्पको भन्दा बढी लोकप्रिय मत प्राप्त गरेपनि पराजित हुनु परेकामा दुःख प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “डोनाल्ड ट्रम्प हाम्रो मुलुकका लागि गलत राष्ट्रपति हुन् । आफूलाई सही सावित गर्ने चार वर्ष पनि त्यतिकै खेर गइसके ।” मिसेलले डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका जो बाइडेन निकै भलादमी र योग्य रहनुभएको बताउनुभयो । उहाँले जो बाइडेनले मुलुकको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने, कोरोना महामारीलाई परास्त गर्ने तथा आफ्नो मुलुकलाई सही नेतृत्व दिनसक्ने बताउनुभयो ।

जो बाइडेनले उपराष्ट्रपति पदमा कमला ह्यारिसलाई मनोनयन गर्नुअघि नै मिसेल ओबामाको सम्बोधन रेकर्ड गरिएकाले ह्यारिसका बारेमा उहाँले केही भन्नु भएको छैन । राष्ट्रपति ट्रम्पका नीतिमाथि कडा शब्दमा आलोचना गर्नु भएकी मिसेलले भन्नुभयो, “देशभित्रका जल्दाबल्दा विषयमा मुलुकको सर्वोच्च निकायका प्रमुख ट्रम्पले सहानुभूति राख्नुपर्नेमा उल्टै अराजकता, विभाजन र घृणा फैलाएर अस्थिरता निम्त्याउनु भएको छ ।” उहाँले विगत चार वर्षका समयका बारेमा अमेरिकी बालबालिकालाई बताउन पनि मुश्किल छ भन्नुभयो । “उनीहरुले आफ्नो नेताले आफ्नै नागरिकलाई राज्यका दुश्मनका रुपमा व्यवहार गरेको देखेका छन्, र गोराहरुको आधिपत्यलाई जबर्जस्त रुपमा महिमामण्डन गरिएको छ ।”

मिसेल ओबामाले रिपब्लीकन समर्थक र प्रगतिशील पक्षधरलाई जो बाइडेनको पक्षमा मत दिन अनुरोध गर्नु भएन, किनभने यी दुई काम रिपब्लीकन सिनेटर जोन कासिच र बर्नी स्यान्डर्सले गर्नु हुनेछ । जोन कासिचले रेकर्ड गराएको भिडियो सम्बोधनमा यसपटक जो बाइडेनलाई जिताउन आग्रह गरिएको छ । उहाँले सन् २०१६ को प्राइमरी चुनावमा ट्रम्पसँगै राष्ट्रपतिको उम्मेदवारीका लागि रिपब्लीकन पार्टीभित्र संघर्ष गर्नु भएको थियो । कासिचले यसअघि नै जो बाइडेनलाई समर्थन गरिसक्नु भएको छ । उहाँले भन्नुभएको छ, “हाम्रो देशमा अहिले के भइरहेको छ भन्ने जगजाहेर छ, तर साँचो अर्थमा अहिले जे भइरहेको छ त्योभन्दा राम्रो गर्न सकिने प्रशस्त सम्भावना हाम्रा अघिल्तिर छ ।”

जो बाइडेनसँग प्राइमरी चुनावमा भिड्नुभएका दक्षिणपन्थी प्रगतिशील मानिने भर्मन्टका सिनेटर बर्नी स्यान्डर्सले रेकर्ड गराउनुभएको सम्बोधनमा भनिएको छः हाम्रो लोकतन्त्रको भविष्य संकटको घडीमा छ । देश जलिरहेको अवस्थामा रोमका निरो बाँसुरी बजाइरहेका हुन्थे, अहिले ट्रम्प गल्फ खेलिरहेका छन् । यसैबीच, बिबिसीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले रिपब्लीकन पार्टीका जोन कासिचको भनाईप्रति असन्तोष प्रकट गर्नु भएको छ । रिपब्लीकन पार्टीले पनि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपति पदका लागि पुनः औपचारिक मनोनयन गर्न अर्को साता अधिवेशन गर्दैछ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलवार १२:४६