९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

प्रदेश ३ काे नीति तथा कार्यक्रम भाेली सम्बोधन हुने

१७ जेठ,हेटौँडा । प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले शुक्रबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ ।

नेपालको संविधानको १८४ धाराको उपधारा २ बमोजिम प्रदेश सरकारको आगामी आव २०७५÷०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रमलाई प्रदेश मन्त्रिपरिषद्ले  पारित गरेको मन्त्रिपरिषद्को कार्यालयका सचिव रेश्मीराज पाण्डेले बताउनुभयो ।

फोहर विसर्जनस्थल खोजिँदै
प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले स्थानीय तहमा फोहोर विसर्जनस्थलका लागि बस्तीबाट टाढा उपयुक्त स्थान छनोट गर्ने काम अघि बढेको बताउनुभएको छ ।

उहाँले ३ नं प्रदेशसभामा यही जेठ १३ र १४ गत उठेका विषयमा जवाफ दिँदै प्रदेश सरकारले ७९ नयाँ कानून आगामी आर्थिक वर्षमा बनाउने जानकारी दिनुभयो ।

उहाँले सवारी साधनको दुर्घटना र जानाजानी किचेर मार्नेलाई कारवाही गर्न नयाँ विधेयक ल्याइने बताउनुभयो । भूकम्पपीडितलाई तत्काल आवासगृह निर्माण गर्न सरकारी अनुदान उपलब्ध गराइने र तत्काल घर निर्माणका लागि आवश्यक सामग्री सर्वसुलभ रुपमा उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन पठाइने जानकारी उहाँले दिनुभयो ।

आजै बसेको प्रदेशसभाको बैठकले मुख्यान्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा र शर्तसम्बन्धी विधेयकमाथि दफाबार छलफल गरी स्वीकृत गरेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७५, बिहीबार २०:२९