९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

म्यानपावर कम्पनीका कर्मचारी पक्राउ

१७ जेठ, काठमाडौँ । वैदेशिक रोजगार विभागले कतार जाने कामदारबाट बढी शुल्क लिँदै गर्दा म्यानपावर कम्पनीका एक कर्मचारीलाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वसुन्धरास्थित डी सेन्टर ओभरसिज कन्सर्नका कर्मचारी बालकुमारी राई रहेकी छिन् । कतार जाने कामदारबाट रु ९५ हजार लिँदालिँदै उनलाई पक्राउ गरेको विभागका निर्देशक रामकुमार थापाले जानकारी दिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको सचिवालयमा कामदारले उजुरी गरेपछि मन्त्रीको निर्देशनमा विभागको टोलीले उक्त ओमरसिज कार्यालयबाट कर्मचारीलाई रकम लिँदालिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

कतारमा फ्री भिसा, फ्री टिकट भएकाले वैदेशिक रोजगारमा कतार जाने कामदारबाट १० हजारभन्दा बढी रकम लिन नपाइने निर्देशक थापाले बताए । उक्त ओभरसिजले रु ९५ हजार लिन थालेको सूचनाको आधारमा पुग्दा रकम कामदारबाट लिँदै गरेको अवस्थामा पक्राउ गरेको बताए ।

फ्री भिसा फ्री टिकट भएको मुलुकमा कामदार पठाउँदा रु १० हजारभन्दा बढी रकम लिन नपाइने व्यवस्था छ ।

निर्देशक थापाले ओभरसिजका सञ्चालक विदेशमा रहेकाले आएपछि अनुसन्धान गर्ने बताए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७५, बिहीबार १९:३९