३३ वर्षपछि पक्राउ परे महिला बेच्ने नुवाकोटे दलाल
११ फागुन, नुवाकोट । मानव बेचबिखन मुद्दामा दोषी ठहर भई फरार रहँदै आएका कामी तामाङ ३३ वर्षपछि पक्राउ परेका छन् । उनन्साठी वर्षीय तामाङलाई काठमाडाैँको तीनचुलेबाट बिहीबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि नुवाकोट जिल्ला अदालतमा बुझाइएको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।
गाउँकै एक किशोरीलाई भारतमा लगी बिक्री गरेको अभियोगमा विसं २०४१ चैत १४ गते अदालतबाट दोषी ठहर भई १० वर्षको कैद फैसला गरिएका साविक तलाखु गाविस–२ घर भएका तामाङ त्यसपछि फरार रहँदै आएका थिए । अदालतले उनलाई कैद सजाय भुक्तानीका लागि कारागार चलान गरेको छ ।
नुवाकोट प्रहरीले गत माघ २८ देखि न्यायालयबाट दोषी ठहर तथा फरार रहेका अभियुक्त खोजी गर्न ‘विशेष अभियान’शुरु गरेपछि १३४ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख कुँवरका अनुसार पक्राउ परेका व्यक्तिबाट रु चार लाख ५२ हजार जरिवाना असुल भएको र ४५ वर्ष ११ महिना १२ दिनको कैद सजाय लगत कट्टा भएको छ ।
प्रकाशित मिति : February 23, 2018 at 7:45 pm









