५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नुवाकोटको स्कुलमा प्रधानाध्यापकको कक्षमा ताला

१७ जेठ, नुवाकोट । नुवाकोटको तार्केश्वर गाउँपालिका–१ बुधसिंहमा रहेको ढाँडखर्क प्राथमिक विद्यालयका प्रधानाध्यापकको कक्षमा ढेड महिना अघि लगाएको ताला अझै खुलेको छैन ।

विद्यालयका प्रधानाध्यापक मधु अधिकारीले आर्थिक अनियमितता गरेको भन्दै छानबिनका लागि विभिन्न निकायमा उजुरी दिए पनि सम्बोधन नभएकाले चैत २९ गते प्रअको कार्यकक्षमा ताला लगाएर छानबिनको माग गरिएको अभिभावक शरण अधिकारीले बताए ।

विद्यालयको प्रअ पदमा मधु हुनुभएको नौ वर्ष भएको र त्यो समयदेखि आयव्यय सार्वजनिक नभएको अभिभावक शरणले जानकारी दिए । विद्यालयको रु चार लाखभन्दा बढी व्यक्तिगत रुपमा प्रधानाध्यापकले खर्च गरेको स्वीकारे पनि फिर्ता नगरेपछि ताला लगाउन बाध्य भएको अधिकारीले बताए ।

विद्यालयमा लामो समयदेखि अभिभावक भेला नबोलाएको, सामाजिक लेखा परीक्षण नभएको, आयव्यय सार्वजनिक नगरेको भन्दै अभिभावकले यसअघि वडा कार्यालय, गाउँपालिका र शिक्षा कार्यालयमा उजुरी दिए पनि उक्त निकायबाट समेत सम्बोधन नहुँदा उनीहरु रुष्ट भएका छन् ।

कक्षा ३ सम्म अध्ययन हुने विद्यालयमा प्रअको कक्षमा ताला लगाए पनि अध्ययनमा कुनै असर नपुगेको व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र अधिकारीले बताए

प्रकाशित मिति : १७ जेष्ठ २०७५, बिहीबार ०८:३९