५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

यार्सागुम्बा संकलन गर्न गएका तीनजनाको मृत्यु

१४ जेठ, जाजरकोट । डोल्पामा यार्सागुम्बा संकलन गर्न गएका तीनजनाको लेक लागेर मृत्यु भएको छ भने एकजनाको उद्धार गरिएको छ । डोल्पाको ठूलीभेरी नगरपालिका वडा नं १० मा पर्ने ग्यालवारा पाटन पुगेका त्रिपुरासुन्दरी नगरपालिका–१०, लिकुका ३० वर्षीय नारायणप्रसाद पहाडीको लेक लागेर मृत्यु भएको हो । त्यस्तै, डोल्पोबुद्ध गाउँपालिकाको धो ताक्सी पाटन पुगेका जाजरकोट नलगाड नगरपालिका–८ खगेनकोट का १५ वर्षीय भद्रबहादुर चनाराको पनि लेक लागेर मृत्यु भएको छ । उनीहरुलाई लेक लागेपछि उपचारका लागि शनिबार दुनैतर्फ ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, काइके गाउँपालिकाको सुन्दरे शेर्पा आधारभूत विद्यालय टुप्पाताराका शिक्षक शेरबहादुर राना झाँक्रीको पनि यार्सागुम्बा टिप्न ठाँगे पाटनतर्फ जाँदै गरेको बेला लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।यस्तै, धो ताक्सी पाटनमा लेक लागेर सिकिस्त बिरामी परेका रुकुम आठबीसकोट नगरपालिकाका हरिबहादुर शाहीलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि नेपालगञ्ज पु¥याइएको जिल्ला प्रशासन कार्यालय, डोल्पाले जनाएको छ ।

विश्वकै उच्च मानव वस्ती मानिने धो ताक्सी चार हजार २०० मिटरको उचाइमा रहेको बस्ती हो । धो ताक्सी वस्तीभन्दा माथि उचाई भएका पाटनमा यार्सागुम्बा पाइन्छ । सञ्चार समस्याका कारण पाटनबाट यथार्थ जानकारी आउन कठिन रहेको प्रहरीले जनाएको छ । सानातिना स्वास्थ्य समस्यालाई समस्या नमान्ने र अन्तिम अवस्था आएपछि मात्र गुहार्ने परम्पराले उद्धारमा कठिनाइ आउने गरेको अनुभव रहेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७५, सोमबार ०५:२८