५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

व्यवसायीको बैंक खाता फुकुवा गर्न सांसदहरुको माग

१३ जेठ, मकवानपुर । प्रदेश नं ३ को प्रदेशसभाको बैठकमा सांसदहरुले यातायात व्यवसायीको रोक्का गरिएको बैंक खाता फुकुवाको माग गरेका छन् ।

बैठकको विशेष समयमा बोल्ने १३ सांसदमध्ये अधिकांशले यस्तो माग गरेका हुन् । प्रदेशसभा सदस्य केशवराज पाण्डेले भूकम्पपीडितले छिटो घर निर्माण गर्न र आवास निर्माणका लागि सरकारले तोकेको रकम उपलब्ध गराउन लालपुर्जाविहीनलाई सरकारले लालपुर्जाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले यातायात क्षेत्रमा सिण्डिकेट भएको भन्दै व्यवसायीलाई दुःख दिने सरकारले मेडिकल र शिक्षामा भएको कार्टेलिङ र वेथितिबारे मौन रहेको आरोप लगाउनुभयो ।

यातायात र निर्माण व्यवसायीलाई सरकारले अपराधीको व्यवहार गरेको भन्दै प्रदेश सरकारदेखि संघीय सरकारसम्म निजी क्षेत्रलाई निरन्तर प्रहार गरी धरासायी बनाउन लागिपरेको उहाँको दाबी थियो । सरकारले यातायात व्यवसायीको बैंक खाता रोक्का गर्दा यातायात मजदुरले दुर्घटना हुँदासमेत उपचार नपाएको उहाँले बताउनुभयो ।

प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाँईले भारतीय लगानीमा रहेको एभरेष्ट बैंकमै खाता खोल्न लगाएकोप्रति आपत्ति जनाउँदै यस्तो बुद्धि कहाँबाट आयो भनी प्रश्न गर्नुभयो । उहाँले देशको सरकारी बैंकमा खाता खोल्नुपर्ने सुझाव दिनुभयो ।

प्रदेशसभा सदस्य प्रदीपकुमार कटुवालक्षेत्री केसीले विपी राजमार्गमा यातायात व्यवस्था विभागले यातायात सञ्चालन गर्न अवरोध गरेको भन्दै बेलैमा प्रदेश सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य शान्तिप्रसाद पौडेलले विपी राजमार्गमा यातायात व्यवस्था विभागले लगाउन खोजेको सिण्डिकेट खारेज हुनुपर्ने बताउनुभयो ।

विशेष समयमा सांसद बानियाँ, कुमारी मोक्तान, रमेश पौडेल, गोसाँई, रिता माझी, रिना गुरुङ, पाण्डे, जगतसिं खनाल, वसन्त मानन्धर, गणेशप्रसाद दुलाल, फटिककुमार कटुवाल र शान्तिप्रसाद पौडेलले बोल्नुभएको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७५, आईतवार २०:४४