११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024

श्याम रिमालको ‘बारपाक’ कम्पकाव्य सार्वजनिक


काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक श्याम रिमालले लेख्नुभएको कम्पकाव्य ‘बारपाक’ आज सार्वजनिक गर्नुभएको छ । कृतिमा राहतमा भएको अनियमितता, राजधानीका सम्पदामा पुगेको क्षति, भूकम्पले ल्याएको नयाँ अवसर जस्ता विषयमा लेखिएका २१ कविता समाविष्ट छन् । ‘धरहरा’, ‘रानीपोखरी’, ‘काष्ठमण्डप’, ‘काठमाडौँलाई भूकम्प सुहाउँदैन’ ‘पाटन’, ‘योगनरेन्द्र मल्लको चरो’ ‘टेको भादगाउँ’, ‘वेह्युल’ (ला¬ङटाङ), ‘घर’, ‘भूकम्प युग’, , ‘राहत’, ‘बारपाक’, ‘वैशाख १२’ आदि शीर्षकका छोटा छोटा कवितामा कविले आफ्ना भाव पोखेका छन् ।

प्रेस चौतारी नेपाल रासस पत्रकारिता सम्मान तथा पुरस्कार वितरण एवम् काव्य विमोचन समारोहमा उहाँले रिमालको कृति भविष्यका पुस्ताका लागि अध्ययनको दस्तावेज बन्ने बताउनुभयो । कार्यक्रममा कृतिमाथि टिप्पणी गदै दीपेन्द्र अधिकारीले लेखक रिमालले भूकम्पमा लेखेका भोगेका कुरा कवितामा उल्लेख गरेको बताउनुभयो ।

उहाँले प्रकृतिले विनाश गरेको कुरालाई लेखकले सास्कृतिक विम्ब प्रयोग गरी मिठासपूर्ण रुपमा कविता, र हाइकुमार्फत व्यक्त गरेको बताउँदै साहित्यकार जति पीडामा हुन्छ त्यति नै बढी सशक्त भएर लेख्ने गर्छन् भन्नुभयो । कार्यक्रममा साहित्यकार रामकुमार पाँडेले लेखकले भूकम्पमा आफूले देखेभोगेका कुरालाई कवितामार्फत प्रस्तुत गरेकाले कृतिलाई दृश्य साहित्यको संज्ञा दिनुभयो ।

कार्यक्रममा राससका अध्यक्ष कुलचन्द्र वाग्लेले बारपाक कृति सानो भए पनि यसले दिने सन्देश ठूलो भएको बताउनुभयो । राससका महाप्रबन्धक ओपेन्द्र शर्माले रिमालको कृतिले समाज परिवर्तन गर्न सहयोग पु¥याउने बताउनुभयो । नायब महाप्रबन्धक सुरेन्द्र नेपालीले रिमालको कृतिबाटसरल भाषामा भूकम्पलाई बुझ्न सहयोग मिल्ने बताउनुभयो । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश वस्नेत र प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले नेपाली समाज भूकम्पपछि कता जाँदैछ भन्ने सन्देश कृतिले दिएको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७५, शुक्रबार १८:३२