७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

नेपालमा समुदाय स्तरमा काेराेना संक्रमण फैलिएकाे छैनः डब्लुएचओका नेपाल प्रमुख (अन्तर्वार्ता)

नेपाल स्थित विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख डा. जोस भ्यान्डेलरले कोभिड १९ विरुद्ध अपनाएको रणनीतिले राम्रो काम गरेको भन्दै खुशि व्यक्त गर्नुभएको छ । सिमित श्रोत साधनको बीच संक्रमणलाई समुदाय स्तरसम्म फैलन नदिन चालेको कदम ठीक भएको पनि उहाँले बताउनुभएको छ । अहिले लकडाउन खुकुलो भएपछि भने नेपालमा जोखिम बढेको डब्लुएचओले बताउँदै आएको छ । यस्तै प्रसंग र सन्दर्भमा रहेर न्यूज एजेन्सी नेपालका संवाद्दाता सविन धमलाले डब्लुएचओका नेपाल प्रमुख डा. जोस भ्यान्डेलरसँग गर्नुभएको कुराकानी ।

अहिले कोरोनाको कहरमा छौं हामी । विश्वको आँखाबाट नेपाललाई कसरी हेरिएको छ ? कस्तो छ नेपालको अवस्था ?

अहिले विश्वव्यापी दृटिकोणबाट हेर्दाखेरी युरोपमा कोरोनाको संक्रमणहरु घटिराखेको छ भने संयुक्तराज्य अमेरिकामा अझै बढिराखेको देखिएको छ । त्यसैगरेर अहिले अफ्रिकामा पनि संक्रमण विस्तारै बढ्दै गएको देखिराखेको छ । नेपालमा पनि बढ्दै गएको देखिएको छ । अहिले बढ्नुको कारण धेरै केसहरुको पहिला भन्दा रिपोर्टीङ भइराखेको छ । नेपालको केसमा एउटा विशेष कुरा के छ भने नेपालमा समुदाय स्तरको संक्रमण भन्दापनि विदेशबाट फर्कने व्यक्तिहरुमा बढी संक्रमण देखिएको छ । त्यसैले अहिले हामीले देखिएका केसहरु क्वारेन्टाइनको स्थलहरुबाट बढी आएका छन् । विशेषगरी भारतबाट फर्किएका व्यक्तिहरुमा र अन्य देशहरुबाट फर्केका व्यक्तिहरुमा देखिएको छ ।

यसलाई फेरी मैले उल्टो बनाए जस्तो अव नेपालले विश्वलाई कसरी हेर्नुपर्छ अर्थात नेपालले विश्वलाई यहि प्याण्डामिकको बारेमा कोरोनाको बारेमा कसरी हेरीरहेको छ ? कस्तो अनुभव छ तपाईको ?

तपाइले भनेजस्तै महामारीले कुनैपनि सीमा भन्दैन । यो विश्वव्यापी कुरा हो । यसले गर्दा कुनैपनि सीमाले यसलाई रोक्नेकुरा हुँदैन र नेपालले हेर्दाखेरीपनि के हुनपर्यो भने नेपाल पनि यो विश्वको परिवेसको एउटा हिस्सा हो भनेर त्यसरी हेर्न जरुरी छ । किनभने हामीले देखिराखेका छौं संक्रमणहरु बाहिर देशबाट फर्किएको व्यक्तिहरुमा देखिएको छ ।

फेरी भारतबाट फर्केका व्यक्तिहरुमा मात्र नभएर अन्य देशबाट पनि फर्किराखेका नेपालीहरुमा पनि देखिराखेको छ । यसबाट हामीले के बुझ्नु पर्छ भने कुनैनकुनै बखतमा यो रोग नेपाल आउने वाला थियो र आउने नै वाला छ भन्ने कुरा चाहिं बुझ्न जरुरी छ । हामी यो विश्वपरिवेसको एउटा हिस्सा हौं भनेर सोच्न जरुरी छ ।

नेपालको बाँकी विश्व भन्दा अलिकति फरक जस्तो देख्यौं जुनबेला हामीकोमा थोरै संक्रमणहरु देखिएको थियो त्यो बेला हामीले लकडाउन गर्यौं र हामीले झण्डैझण्डै ८० दिन पछाडि लकडाउन खोल्यौं तर अहिले संक्रमितको संख्या बढिरहेको छ । यसलाई प्राविधिक रुपमा कसरी हेर्न सकिन्छ ?

नेपालमा गरिएको जस्तो लकडाउनको उद्देश्य भनेको भाइरसलाई कम गर्ने भन्ने हो । किनभने लकडाउन गरेपछि मानिसहरु घरमै बस्छन, ट्राफिक पनि हुँदैन र आवतजावतहरु कम हुन्छ । त्यसले गर्दा भाइरसको संक्रमणको संख्या घट्छ भन्ने हो । नेपालले लकडाउनलाई एकदमै छिटो कार्यान्वयन गर्यो । मार्च महिनामा दोस्रो केस देखिना साथ नै लकडाउन गर्यो र त्यसले गर्दाखेरी नै नेपालमा अहिले समुदाय स्तरको संक्रमण नदेखिएको हो जस्तो लाग्छ ।

यसको एउटा आंशिक कारण पूर्णरुपमा नभएपनि आंशिक कारण लकडाउन हो भन्ने लाग्छ र त्यो अर्थमा लकडाउन नेपालको हकमा एकदमै प्रभावकारी भएको छ । तर लकडाउन भन्नाले त्यसको जनस्वास्थ्यको पक्ष त एउटा भयो तर त्यो बाहेक अन्य पक्षहरु पनि हुन्छन । जस्तै सामाजिक पक्ष, आर्थिक पक्ष किन भने लकडाउन लगाएपछि मानिसहरु आफ्नो काममा जान पाउँदैनन र कमाईमा असर गर्छ । लकडाउन लगाएको केही समयपछि कुनै पनि सरकारलाई एउटा दुविधा उनीहरुको सामु देखा पर्छ । त्यो भाइरसलाई नियन्त्रण गर्नलाई बढी जोड दिने कि अब अर्थतन्त्रलाई पनि सन्तुलन गर्ने भनेर ।

त्यसले गर्दा नेपालमा अहिले लकडाउन केही हदसम्म खुकुलो बनाइएको छ । यो हामीले अरु देशहरुमा पनि देखिराखेका छौं लकडाउन खुकुलो बनाउँदा एकैचोटि नगरेर स्टेप बाइ स्टेप चरणवद्ध रुपमा गरेको देखिएको छ र नेपालले पनि त्यसै गरिराखेको छ । अहिले सरकारको लागि प्रमुख मुद्दा भनेको त्यसलाई कसरी सन्तुलनमा ल्याउने भाइरसको नियन्त्रणको कुरा र अर्थतन्त्रमा मानिसहरुलाई अव काममा जानुपर्ने छ, आफ्नो कमाई गर्नुपर्ने छ ति कुराहरुलाई कसरी सन्तुलन गर्ने भन्ने हो । नेपालमा यो अव कसरी जान्छ भन्ने कुरा देख्न बाँकी छ । तर हामीले के कुरा पनि मनन गर्नुपर्छ भने यदि केसहरु फेरी बढ्दै गयो भने लकडाउन फेरी लाग्न पनि सक्छ । यो खुला नै गरिन्छ भन्ने चाहिं छैन् । यो कुरा मनन गर्नुपर्छ ।

अलिकति प्राविधिक कुरा गरौं । जस्तो हामीकहाँ देखिएको कोरोनाको संक्रमणमा लक्षणहरु देखिएनन् । कुनै संकेतहरु देखिएन । व्यक्ति स्वस्थ रहदारहदै पनि संक्रमित भएको हामीले पायौं । यसमा के छ डब्लुएचओ को अध्ययन ? नेपालमा आएको भाइरसले अणुवांशिक परिवर्तन गरिसकेको हो अथवा यहिंको स्थानीय भाइरस बनिसकेको हो ? यसबारे डब्लुएचओ ले कुनै अनुसन्धान गरेको छ ?

तपाइले भने जस्तै हो । नेपालमा अहिले लक्षण रहित केसहरु एकदम धेरै देखिएको छ । मान्छेहरुलाई स्वास्थ्य नै छु जस्तो भइराखेको छ । उनीहरुलाई खोकि पनि लागेको छैन केही पनि भएको छैन तर कोरोनाको संक्रमण चाहिं भइराखेको भनिएको छ । यो हुनुको कारण एउटा के हो भने नेपालमा धेरैजसो केसहरु देखिएका छन ति सबै युवाहरुमा देखिएको छ ।

कम उमेरका मानिसहरुमा देखिरहेको छ । ति मानिसहरु कस्ता मानिस भन्दाखेरी प्रायजसो भारतमा काम गरीराखेका र भारतबाट फर्किएका व्यक्तिहरु हुन् । अहिले परीक्षण भइरहेको पनि उनीहरुमा बढी हो । यसले गर्दा यसमा अचम्म मान्नुपर्ने कुरा छैन् । किनभने कोरोनाको संक्रमण विशेष गरी युवाहरुमा एकदम कम लक्षण देखिने अथवा लक्षण नदेखिने हुन्छ । नेपालको हकमा हामीले अलि वृद्धवृद्धाहरुमा धेरै केसहरु देखिसकेका छैनौं र भोलि त्यो केसहरु धेरै देखियो भने फरक कुरा हुन्छ । नत्रभने अहिले यसको लागि अचम्म मान्नुपर्ने कुरा छैन् ।

नेपालमा नयाँ खाले भाइरस भन्दा पनि भाइरस उस्तै हो यो हामीले देखेका संक्रमणका केसहरु फरक हुन । विशेषगरी नेपालमा युवाहरुमा देखिराखेको भयो । हामीलाई यो भाइरस त्यसैकारण अनौठो हो कि जस्तो लाग्न सक्छ, नयाँ हो कि जस्तो लाग्न सक्छ । तर यो भाइरस नयाँ भन्दा पनि हामीले जुन केसहरु देखिराखेका छौं त्यो चाहिं नयाँ हो ।

विश्वव्यापी रुपमा पनि अहिले यो भाइरसको मूलभुतरुपमा परिवर्तन देखिएको छैन् । त्यसैले यो त्यही नै भाइरस हो फरक भाइरस हो भनेर मान्नुपर्ने अहिले सम्म कुनै कारण कुनैपनि प्रमाण देखिएको छैन् । केवल फरक के हो भने हामीले जुन केसहरु देखिराखेका छौं त्यो विरामीको प्रोफाइल र विवरण फरक देखिएको हो ।

अर्को पनि प्राविधिक प्रश्न छ । नेपालमा एकदमै बहसको विषय पनि बनेको छ । हामीले आरडिटी परीक्षण र पीसीआर परीक्षण बारे नै बुझ्न सकेनौं । यहाँ जनमानसमा एउटा विवाद पनि छ । कतिपय अवस्थामा सरकारको पनि दोश देखिन्छ । डब्लुएचओ ले के भन्छ आरडिटी कस्तो अवस्थामा गर्ने हो, पीसीआर कस्तो अवस्थामा गर्ने हो यसको प्राविधिक विशेषता के के हुन ?

आरडिटी र पीसीआर दुइवटा प्रयोगशालामा गरिने परीक्षणहरु हुन तर यिनिहरु फरक हुन्छन् । पीसीआरले तपाईको सरिरमा यो भाइरस छ कि छैन तपाई अहिले संक्रमित हुनुहुन्छ कि हुनुहुँदैन भनेर हेर्छ । यसको लागि तपाइको नाकबाट स्वाब लिएर नमुना लिएर परीक्षण गरिन्छ । आरडिटीले सरिरमा एन्टीबडी छ कि छैन भनेर हेरिन्छ ।

एन्टीबडी भनेको त्यस्तो कुराहरु हो जुन सरिर आफैले निर्माण गर्ने कुरा हो र एन्टीबडी सरिरले कुनै भाइरससँग प्रतिरक्षा गर्नको लागि भाइरसँग जुध्नको लागि उत्पादन गर्ने एउटा चिज हो । एन्टीबडीहरु पत्तालाग्न सक्ने जतिको संख्यामा उत्पादन हुनको लागि १० देखि १४ दिन सम्म लाग्न सक्छ । त्यसले गर्दाखेरी आरडिटीले के कुरा हामीलाई थाहा दिन्छ भने उक्त व्यक्ति विगतमा कुनै समयमा त्यो भाइरसको संक्रमणमा आएको थियो अथवा कुनै बेला संक्रमित भएको थियो कि भन्ने कुरा जानकारी दिन्छ । यसरी हेर्दा यि दुइवटा फरक छन् ।

एकले अर्कोलाई प्रतिस्थापन गर्न मिल्दैन् । पीसीआर हामीले प्रयोग गर्ने भनेको कुनैपनि व्यक्ति संक्रमित छ कि छैन र उसले अरुलाई संक्रमण सार्न सक्छ कि सक्दैन भनेर जाँच्नको लागि परीक्षण गर्छौं । आरडिटी चाहिं विशेष गरी कुनैपनि समुदाय अथवा कुनैपनि वर्ग कुनै समयमा कुन अनुपातमा यो भाइरसको संक्रमण आएको थियो भन्ने कुरा जान्नको लागि गर्छौं ।

तसर्थ फेरी दोहोर्याउँदा पीसीआर कुनैपनि व्यक्तिमा अहिले संक्रमण छ कि छैन र त्यो व्यक्तिले संक्रमण सार्न सक्छ कि सक्दैन भन्ने जाँच्छ भने आरडिटीले कुनै व्यक्ति अथवा कुनै समुदाय विगतमा कुनै विन्दुमा त्यो भाइरसको संक्रमित थियो अथवा त्यो भाइरसको संक्रमणमा आएको थियो कि थिएन भन्ने कुरा जाँच्छ । त्यसैले आरडिटीले सरिरले प्रतिरक्षाको रुपमा निकाल्ने एन्टिबडिजहरु छ कि छैन भन्ने कुरा जाँच गर्ने हो ।

अव अलिकति सामाजिक कुरा गर्छु । हाम्रो क्वारेन्टाइनको अवस्था राम्रो छैन हामीले धेरै पीसीआर टेस्ट पनि गर्न सक्दनौं । हाम्रो क्षमता अर्थात आर्थिक कुराहरु पनि आउँछ । यस्तो कतिपय अवस्थामा क्वारेन्टाइनमा राखेका व्यक्तिहरुलाई परीक्षण नगरिकन हामीले पठाउनुपर्ने हुनसक्छ । यसबारे विश्वव्यापी रुपमा डब्लुएचओको कुनै गाइडलाइन छ ? यस्तो अवस्था आउँदाखेरी के गर्ने भन्ने बारेमा अर्थात आरडिटी वा पीसीआर कुनैपनि जाँच नगरीकन व्यक्तिहरुलाई क्वारेन्टाइनबाट घरमा अथवा समुदायमा पठाउन सक्ने अवस्था आउन सक्छ ? के यो ठिक हुन्छ ?

हामीले क्वारेन्टाइन गर्ने भनेको यसकारणले गर्ने हो कि मानिसहरुलाई कम्तिमा १४ दिनको लागि छुट्टै राख्छौं । ता कि त्यो व्यक्तिमा यदि भाइरस भएकै भएपनि १४ दिन सम्ममा भाइरस मरिसक्छ त्यसले उक्त व्यक्तिले अरु कसैलाई त्यो संक्रमण सार्न सक्दैन् । व्यक्ति पनि निको भइसकेको हुन्छ । तसर्थ हामीले यदि लामो समयसम्म कुनैपनि व्यक्तिलाई छुट्टै राख्न सकियो भने उसलाई परीक्षण नगरिकन समुदायमा अथवा घरमा पठाउँदाखेरी पनि भाइरस संक्रमण हुने सम्भावना रहदैन् ।

किनभने उक्त व्यक्ति पहिले नै निको भइसकेको हुन्छ । तसर्थ हामीले यदि क्वारेन्टाइन राम्रोसँग गर्न सक्यौं भने टेस्ट नगर्दा पनि फरक पर्दैन । तर क्वारेन्टाइन कसरी राम्रोसँग गर्ने भन्नेमा हामीसँग दुईवटा उपायहरु छन् । एउटा सबै मान्छेहरुलाई एकठाउँमा लिएर आउने सम्भावित व्यक्तिहरुलाई र उनीहरुलाई त्यो ठाउँमा निश्चित समयको लागि राख्ने । अर्को उपाय भनेको घरमै पनि कुनैपनि व्यक्तिलाई क्वारेन्टाइनमा राख्न सकिन्छ । तर घरमा राख्दा खेरिको एउटा जोखिम चाहिं के हुन्छ भने यदि उक्त व्यक्तिमा भाइरस रहेछ भने उसले परिवारको अन्य सदस्यहरुलाई सारेको नसारेको सुनिश्चित गर्नुपर्ने हुन्छ ।

तसर्थ परिवारका अन्य सदस्यहरु भन्दा दुरी अलिकति कायम गर्ने, छुट्टै कोठामा बस्ने, छुट्टै सौचालय प्रयोग गर्ने लगायतका सुविधाहरु हामीले सुनिश्चित गर्नुपर्ने हुन्छ । त्यसैगरी क्वारेन्टाइनमा संक्रमण भएको हुनसक्ने सम्भावित व्यक्तिलाई हामीले अन्य व्यक्तिहरुबाट छुट्टै राख्ने हो । तर क्वारेन्टाइन मै भएका पनि यदि कोही व्यक्तिमा संक्रमण देखियो भने उक्त व्यक्तिलाई आइसोलेसनमा लगेर छुट्टै राख्नुपर्छ एकान्तबासमा लगेर राख्नुपर्छ ।

त्यसले हामीले क्वारेन्टाइन प्रयाप्त समयसम्म कायम राख्न सक्यौं भने भाइरस सर्ने जोखिमबाट हामी बाच्न सक्छौं त्यसलाई रोकथाम गर्न सक्छौं । तर यहाँ मुख्य प्रश्न भनेको हामीले क्वारेन्टाइन राम्रोसँग गर्न सक्छौं कि सक्दैनौं भन्ने हो । जस्तै सामाजिक दुरी कायम गर्ने हामी यहाँ अहिले यसरी कायम गरेको जस्तै त्यसैगरी हात सफा गर्ने, खोक्दा र हाच्छ्यु गर्दा आफ्नो कुहिनोलो छोप्ने जस्ता कुराहरु हामीले गर्न सक्छौं यि कामहरु कायम राख्न सक्छौं कि सक्दैनौं भन्ने कुराहरु हो । तसर्थ यदि हामीले उपयुक्त तरिकाले क्वारेन्टाइन गर्न सक्यौं भने परीक्षण नगर्दापनि हुन्छ ।

अर्को मेरो प्रश्न डब्लुएचओ को बारेमा छ । कोरोनाको कहर पछाडी नियमित रुपमा डब्लुएचओ ले विश्वभरी सूचनाहरु आदानप्रदान गर्छ सूचनाहरु दिन्छ सचेतपनि गराउँछ र गाइडलाइनहरु पनि वितरण गरिरहेको हुन्छ । कतिपय अवस्थामा डब्लुएचओले दिने गाइडलाइनहरु छिट्टै वा ढिलो गरीपनि परिवर्तन भएइरहेका हुन्छन । समय समयमा परिवर्तन भइरहेका हुन्छन । यसको अर्थ कुनैपनि देशले अघिल्लो गाइडलाइनलाई मानेर रणनीति तयार गरिसक्दा अथवा त्यसलाई कार्यान्वयनमा ल्याउँदा नल्याउँदा अर्को गाइडलाइन आइसकेको हुन्छ । किन यसरी परिवर्तन भइरहेको हुन्छ । यसमा हामीले पनि महसुस गरेका छौं यसको कुनै कारण छ ?

तपाईंले एकदम सही अवलोकन गर्नुभयो । विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले प्राविधिक सहायता दिन्छ तर उसले दिने प्राविधिक सहायताहरु र जारी गर्ने मार्ग निर्देशनहरु ति सबै कुनै न कुनै प्रमाणमा आधारित हुन्छन विज्ञानमा आधारित हुन्छन् । यसले गर्दाखेरी अर्को कुरा के भयो भने हामीले कोभिड भन्ने यो एकदम नयाँ रोग हो । यसको बारेमा पाँच महिना अगाडि सम्म हामीलाई केही थाहा थिएन । यो पाँच महिनामा यति धेरै अध्ययनहरु भइराखेका छन कि प्रत्येक दिन नयाँ कुराहरु पत्ता लागिराखेको छ ।

धेरै वैज्ञानिकहरुले पनि यो भाइरसको बारेमा अध्ययन गरिराखेका छन् । विश्व स्वास्थ्य संगठनले ति सबै कुराहरुको ट्रयाक गरिराखेको छ । वैज्ञानिकहरुले के नयाँ कुरा पत्ता लगाए भन्ने कुरा हेरिराखेको छ । हामीले देख्न सक्छौं बेला बेलामा त्यो नयाँ कुरा पत्ता लाग्छ र विज्ञान आफै परिवर्तन भइराखेको देखिएको हुन्छ । पहिलो चोटि भनेको कुरा अर्को चोटिको अध्ययनले त्यसलाई गलत ठहर्याएर अर्को नयाँ कुरा देखिराखेको हुन्छ ।

अरु सामान्य अवस्थामा पनि यो कुराहरु भइरहेको हुन्थ्यो तर हामीले याद गरिराखेका हुन्थेनौं मानिसहरुले याद गरेका हुँदैन थिए । तर यो कोभिडको कुरामा के भयो भने एकै चोटि धेरै कुरा भइराखेको छ । धेरै व्यक्तिले यसमा रुचि देखाइराखेका छन र धेरै अध्ययनहरु भइराखेका छन र त्यसमा छिटो छिटो नयाँकुराहरु पत्ता लागिराखेको हुनाले हामीलाई यस्तो लागेको हो ।

विश्व स्वास्थ्य संगठन के चाहन्छ भने उसले जारी गर्ने मार्ग निर्देशिकाहरु उसले दिने निर्देशनहरु सकेसम्म हालसालैको सबैभन्दा नयाँ वैज्ञानिक आधार के छ त्यसको आधारमा हो । सबै भन्दा नयाँ अध्ययन ले पत्ता लगाएको निष्कर्श के छ त्यसको आधारमा होस भन्ने चाहन्छ । म बुझ्छु यो कुरा अलिकति अलमल्याउने खाले हुनसक्छ तर हामीले जारी गर्ने कुराहरु हामीले दिने निर्देशनहरु सकेसम्म सबैभन्दा सत्यको नजिक हुन जरुरी छ त्यसैले यस्तो भएको हो ।

नेपालले अहिले सम्म आउँदाखेरी तपाईं यहिं बसेर पनि हेरिरहनु भएको छ । नजिकबाट काम पनि गरिरहनु भएको छ नेपाल सरकारसँग । हाम्रा सबल पक्षहरु राम्रा पक्षहरु के पाउनुभयो ? यो विषयमा अलिकति सुधार्न पाए अझ राम्रो हुने थियो भन्ने तपाईलाई लागेको त्यस्तो केही छ ?

मैले नेपालमा काम गरेको पाँच वर्ष भयो त्यसैले गर्दाखेरी मैले नेपालको प्रणालीले कसरी काम गर्छ भन्ने बारेमा केही हदसम्म जानकारी हासिल गरेको छु । मैले भन्नुपर्दाखेरी सरकारले जुन लकडाउन कार्यान्वयन गर्न लकडाउन लागु गर्न एकदमै छिटो गर्यो आंशिक रुपमा त्यो एउटा कारण हो जसले गर्दा अहिले सामुदायिक स्तरमा संक्रमण कम देखिएको छ । सरकारले गरेको अर्को राम्रो काम भनेको परीक्षण गर्ने क्षमतालाई निकै छिटो बढायो ।

त्यसले गर्दाखेरी अहिले समुदाय स्तरमै त्यति धेरै संक्रमण फैलिराखेको छैन र अहिले परीक्षणको संख्या पनि प्रत्येक दिन बढिराखेको छ । अर्को कुरा भनेको सरकारले यो लकडाउनको समय अवधिलाई चाहिं आफुलाई अझ राम्रोसँग तयार गर्नको लागि प्रयोग गरेको छ । धेरै काम भएको छ विशेष गरी हामीलाई चाहिने सामग्रीहरु खरिद गर्नमा ल्याउनमा व्यक्तिगत सुरक्षा सामग्रीहरु ल्याउने कुरामा कोभिडको लागि भनेर हस्पिटल तोक्ने कुरामा त्यसैगरी कर्मचारीहरुलाई तालिम दिने कुरामा त्यसैगरी विभिन्न मार्ग निर्देशिकाहरु जारी गर्ने कुरामा चाहिं सरकारले राम्रो काम गरेको छ ।

यस अर्थमा भन्दाखेरी लकडाउनको समयलाई सरकारले राम्रोसँग सदुपयोग गरेको छ । नेपाल एउटा निम्न आय भएको देश हो त्यसले गर्दाखेरी हामीले त्यहि परिपेक्षमा हेर्नुपर्ने हुन्छ । हाम्रो सामान्य अवस्था मै पनि हामीले भनेजस्तो स्वास्थ्य सेवा दिनलाई अलिकति सिमितताहरु हुन्छन किनभने कतिपय अवस्थामा सामग्रिहरु हुँदैनन कतिपय अवस्थामा मानव जनशक्तिहरु हुँदैनन् ।

यसले गर्दाखेरी हामीले निम्न आय भएको नेपाल जस्तो देशको प्रतिक्रिया र उच्च आय भएको देशको प्रतिक्रियासँग अलि दाज्न नमिल्ने हुन्छ । त्यसैगरी अव आउने दिनहरुमा केसहरु एकदमै धेरै नै बढ्ने वाला छ । त्यसको लागि सरकारले तयारी राम्रै गरेको देखेको छु । विशेषगरी परीक्षणहरुको संख्या बढाउनको लागि आगामी महिनाहरुमा पनि सरकारले अझ धेरै तयारी गर्छ भन्ने लागेको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलवार १३:३१