कोरोना राेकथाम तथा नियन्त्रणमा सरकारले प्रस्तुत गरेको कौशल
-प्रा डा ऋषिराम शर्मा
नेपालमा कोरोना महामारी छ, तर नेपालमा मात्र होइन यसभन्दा अझै विकराल रूपमा संसारका महासम्पन्न र सम्पन्न देश जसलाई सामाजिक सुरक्षा र स्वास्थ्य सुविधाका लागि धर्तीको स्वर्ग मानिन्छ ती देशलाई समेत यो महामारीले नारकीय अवस्थामा पुर्याएको छ र त्यहाँको स्थिति त झनै विकराल छ !
नेपालमा जतिबेला सङ्क्रमण आरम्भ भयो त्यतिबेलै संयुक्त राज्य अमेरिका, फ्रान्स लगायत थुप्रै युरोपेली मुलुकमा पनि त्यसकै सेरोफेरोमा कोरोना ती मुलुकमा प्रवेश गरेकै हो । भारत र ब्राजिलमा त नेपाल भन्दा पछि मात्र कोरोना सङ्क्रमण देखिएको हो भने आज ती मुलुककमा कोरोनाले मच्चाएको कहर, सङ्क्रमित र मृत्यु सङ्ख्या जब सुनिन्छ र नेपालको सङ्क्रमण र मृत्यु सङ्ख्यासँग तुलना गरिन्छ तब यो देशमा कोभिड१९ नियन्त्रण समितिका संयोजक रक्षामन्त्री ईश्वर पोखरेल र सिङ्गो टिमले कोरोना नियन्त्रणमा खेलेको भूमिकालाई नसम्झनु अन्याय नै ठहर्छ ।
फरक यत्ति हो नेपालमा कोरोनाको महामारी भन्दा ठूलो र कोरोनाको कहर भन्दा भयावह राज्य वितृष्णाको विषादी छर्कने महामारी छ ! राज्य जे भन्छ त्यसको विरोध गर्नु र त्यसका आदेशको अवज्ञा गर्नु र गरउनुलाई यहाँ गौरव मानिन्छ । लकाडाउन कै अवधिमा र लकडाउन खुकुलो भएको अवधिमा जुन प्रकारका जुलुस र प्रोटेस्टहरू आयोजना गरिए अनि सरकार असफल साबित गरी महामारीको भुङ्ग्रोमा सत्ताका रोटी सेक्ने जुन अभियान चल्यो त्यो अद्यापि जारी छ । त्यसमा पनि ससाना घाउ कोट्याएर क्यान्सर बनाई सत्ता परिवर्तनको रहर गर्नेहरूले निम्त्याएको कुत्सित महामारीले कोरोनालाई माथै गरेको छ, खडा गरेको छ अर्को विकृति र कुण्ठाको सगरमाथा ! विडम्बना को कुरा, यस्ता कुरामा हामीले गर्व गर्नु पर्ने दिन पो आए !
नेपालमा अध्ययनका लागि वुहान गई फर्केका धनुषाका ३१ वर्षीय विद्यार्थी कोरोना सङ्क्रमणको पहिलो लक्षण (माघ ५ मा) देखिँदा रगत परीक्षणका लागि हङकङ पठाइएको थियो । नेपालमा यसअघिका स्वास्थ्य मन्त्री र सरकारले स्वास्थ्यका क्षेत्रमा के गरेका रहेछन् भन्ने कुरो थुक जाच्न पनि हङकङ पठाउनु परेको त्यो लाजमर्दो घटनाले आफै यथार्थ बकेकै छ ।
र आजको अवस्थामा सातै प्रदेशमा कोरोना परीक्षण गर्ने पिसिआर मेसिन छन् र सातै प्रदेशबाट युद्ध स्तरमा कोरोना परीक्षण भै रहेछ व्यापक स्तरमा भैरहेको यही परीक्षणको दायरा बढेका कारण सङ्क्रमितको सङ्ख्या पनि बढेको छ । अहिले सङ्क्रमण बढेको कारण देखाई सरकार सङ्क्रमण रोक्न पूरै असफल भएको, समितिले काम गर्न नसकेको भनी जुन आन्दोलनको र्याप सडक र बन्द कोठामा घन्काइँदै छ त्यसको उच्चाट लाग्दो स्वर सुनेर कोरोना पनि दङ्ग पर्दो होला !
र हिजो दिनमा एक दुई ओटा सङ्क्रमितका केसहरू थपिँदा थर्कमान हुने हरू, सरकारलाई लकडाउन लगाउन ढिलो भो भन्नेहरू नै आज त्यति छिटो किन लकडाउन गरेको भनी सराप्न थाल्दैछन् ।
र आज मुलुकमा त्यससँग सम्बन्धित परीक्षण सामग्री केकति छन् के कसरी परीक्षण रहेको छ भन्ने कुरो हेर्दा समेत धेरै कुरो थाहा हाल्छ, यद्यपि मुलुकमा सङ्क्रमित वृद्धिको महामारीको सापेक्षतामा यो अझै अपुग छ ! तर राज्यको साधन स्रोत र शक्तिको सीमा नबुझेर बुझ पचाउनेहरू र विश्व र छिमेकी देश भारतको सापेक्षतामा हेर्ने हो भने नेपालमा कोरोना भाइरसको महामारी भन्दा कोरोनाको निहुँमा कराउने भाइरसको महामारी चर्केको कुरो विभिन्न तथ्यहरू हेरे छर्लङ्ग हुन्छ नै !
जतिबेला नेपालमा कोरोनाको पहिलो लक्षण देखिँदै थियो त्यसबेला दक्षिणी छिमेकी देश भारतीय मिडिया चिनमा मृत्युको आँकडा बढाइचढाइ पस्कँदै उछित्तो यसरी काढिरहेका थिए कि मानौँ कोरोना उनीहरूको देशमा कहिल्यै आउँदैन ! नेपाल पछि कोरोना देखिएको भारतमा आज कोरोनाको हालत हेरेर मात्र हाम्रो अवस्थाको तुलना गर्दा नेपालमा कोरोनाको नियन्त्रणमा सरकार द्वारा गठित उच्च स्तरीय समिति र त्यसका अध्यक्षलाई धन्यवाद दिन कन्जुस्याई गर्ने हरूले कम्तीमा दुराग्रहपूर्ण आलोचना नगरिदिए हुने थियो कि ?
नेपालमा यसबारे पहिलो पटक २०७६ फागुन १७ गते उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गृह, अर्थ, कृषि, उद्योग, पर्यटन, स्वास्थ्य, शिक्षा, परराष्ट्र र सूचना तथा सञ्चार मन्त्री समेत भएको उच्च स्तरीय समन्वय समिति गठन गरिएको थियो । त्यतिबेला राज्य संयन्त्रलाई निरीह बनाउने गरी जोडतोडसाथ उठाइएको सरकार बाहिरबाट गठन गर्ने गरी उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गर्ने प्रस्ताव आयो । प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गर्नुभयो !
त्यसैको निहुँमा सरकार बाहिरबाट गठन गर्ने भनिएको संयन्त्र गठन नभएको झोँकमा आफ्ना पकेट मिडिया सञचालन गरी सरकार गरेका हरेक काममा छर्किनी हान्ने, नगरे गरेन भन्ने र गरे भ्रष्टाचार भो भनेर दुन्दुभि पिटाउने र सरकारलाई काम गर्न नदिई परोक्षरूपमा छिटोछिटो महामारी नफैलेकोमा शोकमग्न हुने र कोरोना नियन्त्रणमा सरकार सफल भयो भने क्रिकेटको ‘टी २०’ भनेझै नानीदेखि लागेको बानी अनुरूप छ छ महिनामा सरकार (गवर्नमेन्ट) बदल्ने ‘जी ६’ खेल खेल्न नपाइने हो कि भन्ने भुटोले कतिपय आफ्नैको मुटु समेत कुटुकुटु खाएको यथार्थ घाम जत्तिकै छर्लङ्ग छ नै !
हो, महामारीका बेला सामान किन्ने क्रममा भएका भनिएका जे जति अनियमितता होलान् तिनको हिसाबकिताब गर्ने निकायले आफ्ना तीखा नजरले हेरेकै होला र त्यसबेला तिनले उपयुक्त समयमा सजाय पाएनन् भने हाम्रा सडक र सदन चुप लाग्ने छैनन् नै ! त्त्यसो भएको रहेछ भने त्यसमा संलग्न कोही पनि उम्कोस् भन्ने त को पो होला र ? तर उपचारबाट ध्यान अन्यत्र मोड्ने र मुलुकमा महामारी भन्दा ठूलो अर्को आतङ्कको महामारी मच्चाएर राज्यलाई महामारी नियन्त्रणबाट विचलित गराउने गरी जुन क्रियाकलाप भै रहेछन् त्यसको अन्तर्य नबुझ्ने अब को पो होला र !
सम्भवतः कोरोनाको पहिलो लक्षण नेपालमा भेटिँदा दक्षिण एसियाकै लागि सङ्क्रमणको पहिलो केस थियो । भारतमा त एउटा केस पनि भेटिएको थिएन क्यार ! आज भारतमा कोरोनाको महाभारत मच्चिएको छ ! आज मिति २०७७ वैशाख ३ गतेका दिन भरतमा ३५४०६५ सङ्क्रमित छन् भने मृत्यु हुनेको सङ्ख्या बाह्र हजार नाघिसकेको छ । भारतको एक अरब जनसङ्ख्या र नेपलको तीन करोड जनसङ्ख्याको अनुपातमा हेर्ने हो भने पनि अहिलेसम्म नेपालमा १२ हजार सङ्क्रमित र ३६० मृत्यु भएको हुनु पर्थ्यो ।
नेपालमा आजको २०७७ असार ३ गते सम्म २० जनामध्ये कतिको कोरोना भएर मृत्यु भयो र कतिको अर्कै रोगका कारणले मृत्यु भएर कोरोना भयो, त्यो एकातिर छर्लङ्ग छ भने अर्कातिर जुन ७ हजार सङ्क्रमित भेटिए ती मध्ये ९४ प्रतिशत विदेशबाट आएकाहरू मात्र हुनु, ६ प्रतिशत मात्र स्थानीयमा सङ्क्रमण देखिनु र ती ६ प्रतिशत मध्येबाट पनि ९८ प्रतिशत निको भएर फर्कनुले नेपालको कोरोना नियन्त्रण अभियान सफल भएको पुष्टि हुन्छ र यस सफलताका लागि उच्च स्तरीय समिति त्यसका संयोजकको कार्य कुशलता प्रशंस्य नै मान्नु पर्छ ।
अझै भन्ने हो भने भारतमा लकडाउन पछि आगो सरी फैलिएको कोरोनाका कारण आफ्नो मातृभूमि नेपालमा फर्कनेहरूको जुन लर्को लाग्यो, नेपाल भारतका सीमामा नेपालीहरुको घुइँचो लाग्यो । अन्तर्राष्ट्रिय मात्र होइन सङ्कट र महामारीका बेला धेरैको ज्यान जोगाउने क्रममा केहीले केही छिन र केही दिन दुख पाउनु स्वाभाविकै हो ! नागरिकको सुरक्षाका लागि उच्च स्तरीय संयन्त्रले गरेका हरेक निर्णय आम जनसमुदायमा महामारी फैलन नदिनका लागि गरेका उपयुक्त निर्णय हुँदा हुन्, तर हामी मध्ये ककसले तिनको पालना गर्यौँ र एउटै बलो भित्रका ककसले तिनको धज्जी उडायौँ अनि महामारी नियन्त्रणका लागि खट्नु भएका संयोजक र समितो उछित्तो काढ्यौँ, त्यो पनि इतिहासमा धमिलो अक्षरले लेखिने नै होला !
हो, लकडाउनको कडाइ पूर्वक पालना गराउन प्रशासनिक निकायका तर्फबाट कमजोरी देखिनु, भारतबाट हुलका हुल एक्कासि आउँदा क्वारेन्टाइन व्यवस्थापनमा जटिलता हुनु, केही क्वारेन्टाइनको निम्न गुणस्तर हुनु र अपवादका रूपमा कुनै क्वारेन्टाइनमा यातनागृह जस्तो हुनु र क्वारेन्टाइनमै बलात्कार जस्ता जघन्य एवम् कहाली लाग्दा घटना हुनु तथा चढ्दो सङ्क्रमणका तुलनामा पिसिआर परीक्षण न्यून हुनु जस्ता गम्भीर समस्याहरू यस अवधिमा देखिएकै हुन् र यिनलाई राज्यले गम्भीरतापूर्वक लिनै पर्छ ।
तर विश्वमा भै रहेको नियन्त्रण प्रयास र त्यहाँको स्थिति मात्र होइन छिमेकी भारतको अवस्थाको तुलना गर्दा र डब्लुएच्ओले नेपालको कोरोना नियन्त्रणमा गरेको सराहनालाई आधार मान्दा नेपालजस्तो देशले कोरोना नियन्त्रणमा हालसम्म हासिल गरेको सफलतालाई उल्लेख्य मान्नै पर्छ ।
संसारमा सिङगो महामारीमा सम्पूर्ण राष्ट्र एक हुन्छ तर यहाँ महामारीकै बीचमा प्रतिपक्षले भन्दा पनि चर्को आवाजमा आफ्नै पक्षबाट भै रहेको अवरोधका बीचबाट पनि आजसम्म कोरोनालाई समुदायमा फैलन नदिने अभियानको जुन नेतृत्वदायी भूमिका निर्वाह गर्नु भयो त्यसका लागि उच्चस्तरीय समितिका सँयोजक माननीय रक्षामन्त्री ईश्वर पोखरेल हार्दिक बधाईका पात्र हुनुहुन्छ ।
र अन्त्यमा अहिले सङ्क्रमण सङ्ख्या बढ्दो छ र सहर जोखिम उन्मुख छन्, चर्चित जनस्वास्थ्य विज्ञ डा रबिन्द्र पाण्डेले (असार ३ गते फेसबुक वालमा पोस्ट गर्नुभएका) १२ ओटा सुझाव कडाईका साथ पालना गरे गराएमा वर्तमान सरकारको नाम इतिहासमा स्वर्ण अक्षरले लेखिने छ भनी उल्लेख गर्नु भएका सुझाव कडाइका साथ पालना गर्न गराउनु आवश्यक छ ।
प्रकाशित मिति : ४ असार २०७७, बिहीबार ११:०२