२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

पुरुषोत्तम महिना भएकाले जेठ महिनाभरि गोसाइकुण्डमा मेला लाग्ने

९ जेठ, रसुवा । पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्ने भक्तजनको आगमन दिन प्रतिदिन बढ्दै गएको छ । स्थानीय पुरोहित टंकप्रसाद ढकालका अनुसार १० दिनसम्म चल्ने गंगा दशहरा पर्व बिहीबार सम्पन्न भएपनि पुरुषोत्तम महिना भएका कारण गोसाइँकुण्ड स्नानका लागि भक्तजन जेठ महिनाभर नै ओहोरदोहोर भइरहनेछन् ।

पुरुषोत्तम महिनामा तीर्थश्राद्ध गर्न नहुने र स्नान र पूजापाठ गर्नाले आफ्नो मनोकांक्षा पूरा हुने, शरीरमा भएका रोगब्याध हट्दै जाने, परिवारजनमा सुख शान्ति मिल्ने र धनधान्य हुने धार्मिक विश्वास रहिआएको बताइएको छ ।

यही जेठ २ गतेबाट गंगा दशहारा पर्व शुरु भएता पनि फाटफुट मात्र भक्तजन गोसाइँकुण्ड गइरहेको र पुरुषोत्तम महिना परेका कारण बढ्नसक्ने यात्रुको चापलाई मध्यनजर राखी सुरक्षा गस्ती बढाइएको जिल्ला प्रहरी प्रमुख शरतकुमार थापाक्षेत्रीले जानकारी दिनुभएको छ । उहाँका अनुसार रसुवा पुग्ने यात्रु वा जोसुकै व्यक्तिले पनि आफू सुरक्षित भएको महसुस गरी घुमफिर र तीर्थयात्रा गर्नसक्ने गरी सुरक्षा व्यवस्था मजबुत गरिएको छ ।

 गंगा दशहराको शुभारम्भदेखि नै दैनिकरुपमा १५ देखि २० जना भक्तजन ओहोरदोहोर भइरहेको र बढ्न सक्ने यात्रुको चापलाई मध्यनजर राखी धार्मिक मार्गका सबै होटल व्यवसायीले यथेष्टरुपमा खाद्यान्न भण्डार गरिसकेको चन्दनबारीका होटल व्यवसायीले बताएका छन् ।

यस्तै, लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजंग गणले चिकित्सकसहितको स्वास्थ्य शिविर चन्दनबारीमा सञ्चालन गरिरहेको उक्त गणले जनाएको छ ।

भूकम्पपछिको अवस्था हेर्दा पवित्र तीर्थ गोसाइँकुण्ड स्नानका लागि बाह्रै महिना प्रायः युवा भक्तजन बढी मात्रामा ओहोरदोहोर भइरहेको र अहिलेको समय पुरुषोत्तम महिना परेकाले जेठ महिनाभरमा आउने भक्तजनको संख्या पाँच हजार नाघ्न सक्ने अनुमान गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताउनुभयो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार ११:३०