१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

तनहुँको व्यास नगरपालिकाद्धारा ३८ करोडका योजना आगामी वर्ष सम्पन्न गरिने

२३ जेठ, दमौली । तनहुँको व्यास नगरपालिकाले कोभिड–१९ को महामारीका कारण चालू आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न हुन नसकेका योजनालाई आगामी आवमा सम्पन्न गर्ने भएको छ । कोभिड–१९ को महामारीसँगै बन्दाबन्दी लागू गरिएपछि विकास योजना प्रभावित भएकाले चालू आवका योजनालाई आगामी आवको योजनामा समावेश गर्ने निर्णय व्यास नगरपालिकाले गरेको छ ।

नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले क्रमागत योजनाको रु ३८ करोड बजेटसमेत आगामी वर्षको आय व्ययमा समावेश गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चालू आवमा सञ्चालन गर्ने गरी क्रमागत योजनामा छुट्याइएको बजेट कोरोनाका कारण खर्च हुने स्थिति देखिएन, त्यस्ता योजनालाई आगामी वर्षमा सञ्चालन गरिनेछ ।”

श्रेष्ठका अनुसार नगरपालिकाले आगामी आवका लागि रु एक अर्ब ६५ करोड बजेटको अनुमान गरेको छ । “यसमा चालू आवमा सम्पन्न हुन नसकेका योजनाको रकमसमेत जोडिएको छ”, उहाँले भन्नुभयो । नगरपालिकाको ३३औँ नगरसभा आगामी असार १० गते हुँदैछ । नगरपालिकाले चालू आवका लागि रु एक अर्ब ४४ करोड ४२ लाखको बजेट ल्याएको थियो ।

नगरपालिकाले १४ वटै वडाबाट आगामी आवका लागि योजना छनोट गरेको छ । प्रत्येक वडा कार्यालयमार्फत आगामी वर्ष सञ्चालन हुने योजना छनोट गरी नगरकार्यपालिकामा पेश गरिएको छ । नगरपालिकाले आगामी वर्षका लागि कृषि र शिक्षालाई प्राथमिकतामा राखेर योजना निर्माण गर्ने जनाएको छ ।

कर्मचारी र पत्रकारको कोरोना बीमा

नगरपालिकाले कोभिड–१९ को जोखिमका बाबजुद पनि अग्रपङ्तिमा रहेर काम गरिरहेका स्वास्थ्य, सुरक्षा, सरसफाइका कर्मचारी, चालक र नगरपालिकाभित्र क्रियाशील पत्रकारको कोरोना बीमा गर्ने निर्णय गरेको छ । बिहीबार सम्पन्न नगरकार्यपालिकाको बैठकले कोभिड–१९ को विद्यमान जीवन मरणको घडीमा निरन्तर खटिएका स्वास्थ्यकर्मी, नगरप्रहरी, सरसफाइका कर्मचारीलगायत पत्रकारको रु एक लाखबराबरको कोरोना बीमा गर्ने निर्णय गरेको हो ।

जनप्रतिनिधिको हकमा भने व्यक्तिगतरुपमा कोरोना बीमा गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । “जोखिमको अवस्थामा पनि काम गरिरहेकाहरुलाई प्रोत्साहन र स्वास्थ्य जोखिम बहन गर्न नगरपालिकाको तर्फबाट कोरोना बीमाको व्यवस्था गरिएको छ”, श्रेष्ठले भन्नुभयो ।

पसल हरेक दिन खोल्न अनुमति

नगरपालिकाले बन्दाबन्दी खुकुलो बनाउने नीति लिँदै आइतबारदेखि शुक्रबारसम्म सबै पसल सञ्चालन गर्न अनुमति दिएको छ । जेठ २५ गतेदेखि लागू हुने गरी बिहान ६ः०० देखि १० बजेसम्म तरकारी, फलफूल, खाद्यान्नलगायत सबै पसल खोल्न दिने निर्णय भएको छ । हप्तामा न्यूनतम तीन दिन खोल्नुपर्ने गरी सबै बैंकलाई बिहान ११ः०० देखि २ः०० बजेसम्म खोल्न अनुरोध गरिएको छ ।

यसअघि सोमबार, मङ्गलबार, बुधबार र बिहीबार बिहान ११ः०० देखि ३ः०० बजेसम्म मात्रै पसल खोलिँदै आएको थियो । अत्यावश्यक वस्तुका पसलमात्रै खोल्ने भने पनि व्यवसायीले आफूखुशी सबै पसल सञ्चालन गर्दै आएका थिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार १५:५९