४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सबैखालको सिण्डिकेटको अन्त्य हुन्छः गृहमन्त्री थापा

८ जेठ, सुर्खेत । गृहमन्त्री रामबहादुर थापा (बादल)ले मुलुक विकासका निम्ति देशमा व्याप्त सबैखाले सिण्डिकेटको अन्त्य र सामाजिक अपराध नियन्त्रण नगरेसम्म मुलुकको विकास र समृद्धि असम्भव भएको बताएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन पुगेका गृहमन्त्री थापाले पत्रकारहरुसँगको भेटघाटमा उक्त कुरबताएका हुन् । उनका अनुसार मुलुकको अर्थतन्त्रमा प्रभाव पर्नेगरी विभिन्न क्षेत्रमा सिण्डिकेट (एकाधिकार) भएको र सरकारले त्यसलाई तोड्ने अभियान बनाएको बताए ।

एक फरक प्रसंगमा गृहमन्त्री थापाले एमाले र माओवादी केन्द्रबीचको एकता नेपालको इतिहासमा एक असाधारण घटना भएको जनाउँदै यो घटनाबाट मुलुक नयाँ अध्यायमा प्रवेश गरेको विचार व्यक्त गरे । मुलुकभित्रका सबैखाले अपराधहरुको उन्मूलनबिना विकास सम्भव नरहेको भन्दै गाँजिएको गलत संस्कारको सरकारले निर्मूल गरेरै छोड्ने थापाले जिकिर गरेका छन् ।

अहिले भ्रष्टहरुको हातमा देश परेको औँल्याउँदै उनले तस्करी, माफियातन्त्रको अन्त्य गर्नाका साथै समाजमा विद्यमान सबै प्रकारका सिण्डिकेट अन्त्य गर्ने अभियान चलाइएको बताए । उनले अगाडि भने, “अहिले भूमि, निर्माण क्षेत्रमा पनि एकाधिकार देखिन्छ, यसका लागि विभागीय मन्त्रालयले नियमन गर्नुपर्छ ।”

उनले लागुऔषध दुव्र्यसनीका क्षेत्रमा गुणात्मक वृद्धि भएको र तिनका कारोबारीहरुलाई निस्तेज गर्न कानूनको दायरामा ल्याउने वचन दिए । मदिरा नियन्त्रण, महिला हिंसा तथा विभिन्न अपराधजन्य कार्य नियन्त्रणका लागि सरकारले विभिन्न गतिविधि अघि सारेको उनले बताए ।

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार २२:०१