११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाउने सरकारी लक्ष्य

७ जेठ, काठमाडाैँ । सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती गर्ने लक्ष्य राखेको छ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५÷७६ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दोहोरो अंकको आर्थिक वृद्धि गर्ने लक्ष्यलाई प्रमुख प्राथमिकतामा साथ अगाडि बढाइने उल्लेख गर्नुभयो ।

आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाउने, दिगो विकासको लक्ष्य पूरा गर्ने , असमानता कम गर्ने, सबैलाई समान अवसर दिने उल्लेख गर्दै उहाँले कृषि ऊर्जा, उद्योग र पर्यटनलाई आर्थिक विकासका संवाहकको रुपमा अगाडि बढाउने बताउनुभयो ।

सरकारी, निजी तथा सहकारी साझेदारीमा विकासलाई प्रमुख आधारको रुमपा विकास गर्ने, प्रमुख शहरलाई हरित शहरमा विकास गर्ने, जैविक विविधताको संरक्षण तथा नदी किनारा संरक्षणमा जोड दिने, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी बनाउने र स्वच्छ पानीे उपलब्ध गराउन विशेष ध्यान दिइने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

उद्योग तथा घरायसी प्रयोगका लागि २४ सै घण्टा विद्युत् सेवा उपलब्ध गराउने, प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकता दिएर अगाडि बढाइने सरकारको कार्यक्रममा समावेश छ । यस्तै पाँच वर्षभित्र तराईलाई काठमाडौँसँग जोड्ने द्रुत मार्ग तथा मध्यपहाडी राजमार्ग निर्माण गर्ने, मदन भण्डारी राजमार्ग निर्माणलाई विशेष जोड दिइने कार्यक्रमलाई समेत प्रमुख प्राथमिकतामा राखिएको छ ।

रसुवागढी– काठमाडौँ– पोखरा– लुम्बिनी रेलमार्ग निर्माण गर्ने कार्यलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने सरकारको लक्ष्य छ ।
यस्तै सबै स्थानीय तहसम्म सूचना राजमार्ग विस्तार तथा विकास गर्ने र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम समेत प्रमुख प्राथमिकतामा राखिएको छ ।

–रासस

प्रकाशित मिति : May 21, 2018 at 5:18 pm