प्रवासी नेपाली एकता मञ्च साउथ अष्ट्रेलियाले विद्यार्थीहरुलाई रोजगार मुलक तालिम दिने
-बालगोपाल उपाध्याय
३ जेठ, एडिलेड । साउथ अष्ट्रेलियामा कोरोना महामारीबाट प्रभावित नेपाली विद्यार्थीहरु तथा तिनका आश्रितहरुका लागि प्रवासी नेपाली एकता मञ्च(ओएनयुफ) साउथ अष्ट्रेलियाले राेजगारमुलक नि:शुल्क तालिम दिने भएको छ ।
दक्षिण अष्ट्रेलियामा कोरोना महामारी प्रभावित बिद्यार्थीहरुका लागि दिर्घकालिन सहयोग कार्यक्रम अन्तरगत बिद्यार्थी या उनका आश्रितका लागि ३० जनालाई बारिष्टा तालिम, १० जनालाई आरएसए तालिम, १० जनालाई ह्वाइट कार्ड तालिम, ६० जनालाई एकदिने आधारभुत क्लिङ तालिम , चासो राख्ने जुनकुनै विद्यार्थीलाई रिजुमी लेखन तथा रोजगारीका लागि आवेदन लेखन सम्बन्धि सहयोग कार्यक्रम संचालन गर्न लागेकाे प्रवासी नेपाली एकता मञ्च (ओएनयुफ) साउथ अष्ट्रेलियाकाअध्यक्ष हेम खनालले बताउनुभयो ।
उहाले कार्यक्रम एनआरएनए सहितकाे साउथ अष्ट्रेलियन नेपाली कम्युनिटी कोभिड-१९ रिलिफ टाक्स फोर्सको सहकार्यमा हुन लागेकाे बताउनु भयाे । उहाँका अनुसार प्रवासी नेपाली एकता मञ्च साउथ अष्ट्रेलियाकाे फेसबुक पेजमा रहेको लिङ्कमा गएर आगामी २१ मे सम्म फारम भर्न सकिने छ ।
संस्थाले महामारी प्रभावित विद्यार्थीहरुलाइ अल्पकालीन सहयाेग समेतका लागि साउथ अष्ट्रेलियन नेपाली कम्युनिटी कोभिड-१९ रिलिफ टाक्स फोर्सलाई एक हजार अष्ट्रेलियन डलर प्रदान गरेको र तालिमहरुलाइ सफलता पुर्वक सम्पन्न गर्न नौ वटा उपसमिति गठन गरिएको मञ्चकाे अष्ट्रेलिया कमिटी सदस्य कपिल पाण्डेले बताउनु भयाे ।
मञ्चका अष्ट्रेलिया कमिटी सदस्य तथा सामाजिक अगुवा राजु उपाध्यायले तत्कालिन रुपमा यस समस्याको ब्यवस्थापन गरि पिडितलाई मानसिक तथा भौतिक सहाराको अनुभुति दिनका लागि तालिम सानो सहयोग भएको बताउनु भयो । मञ्चले घाेषणा गरेकाे कार्यक्रम महामारी प्रभावित बिद्यार्थीहरुका लागि उपयोगी हुने बताउनु हुन्छ एनआरएनएका अन्तर्राष्ट्रिय सम्वन्य परिषद सदस्य अशोक केशी । केशीले एनआरएनए साउथ अष्ट्रेलियाले २०१७-१९मा पनि वारिष्टा तालिम संचालन गर्दा प्रभावकारी भएको बताउनु भयो ।
मञ्चका साउथ अष्ट्रेलियाका उपाध्यक्ष आर के शर्माले अष्ट्रेलियामा रोजगारी पाउनका रिजुमी र अन्तर्वार्ता महत्त्वपूर्ण हुने भएकाले तालिम कार्यक्रमकाे रिजुमी तथा आवेदन लेखन सम्बन्धि कार्यक्रम सहित तालिमहरु प्रभावितहरुका लागि उपयोगी हुने बिश्वास व्यक्त गर्नु भयो । यसै गरि गत सोमबार प्रवासी नेपाली एकता मञ्च साउथ अष्ट्रेलियाकाे अायाेजना तथा एनआरएनए साउथ अष्ट्रेलियाको सहकार्यमा तनाव व्यवस्थापन र सकारात्मक दृष्टिकोण बिषयमा १.५ घण्टा लामो जुम अनलाइन प्रवचन सम्पन्न भएको मञ्चका सचिव युवराज पहाडीले बताउनु भयाे । पहाडीका अनुसार प्रेरक वक्ता पवन नेपाल बाट दिइएको उक्त प्रवचनमा अष्ट्रेलियाबाट करिव ५० जनाले सहभागिता जनाएका थिए । उक्त कार्यक्रमको सहजीकरण मञ्चका सदस्य सन्तोष बस्नेतले गर्नुभएको थियो ।
प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार १०:०१