१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

कक्षा १ देखि १० सम्मका विद्यार्थीले पढ्न मिल्ने लर्निङ पोर्टल सञ्चालनमा

२७ वैशाख, काठमाडाैँ । लकडाउनको कारण फुर्सदमा रहेका कक्षा १ देखि १० सम्मका विद्यार्थीले पढ्न मिल्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लर्निङ पोर्टल सञ्चालनमा ल्याएको छ ।  मन्त्रालयका अनुसार कक्षा १ देखि १० सम्मका विद्यार्थीले विद्यालयमा पढ्ने सामग्रीलाई यो पोर्टलमा समावेश गरिएको छ ।

सबै विषयको सामग्री यसमा समेटिएको छ । यसको सञ्चालन तथा नियन्त्रण शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गर्नेछ । पोर्टल खोल्न learning.cehrd.gov.np मा क्लिक गर्नुपर्छ । केन्द्रका महानिर्देशक डा. तुल्सी थपलियाका अनुसार विद्यार्थीले यो पोर्टलमा गएर आफूलाई आवश्यक कक्षा र उक्त कक्षाका विषय अनुसारको सामग्री पढ्न पाउनेछन् ।

केन्द्रका अनुसार एक पटक इन्टरनेट खोलेर आफूलाई मन परेको सामग्री डाउनलोड गरेर फुर्सदमा पढ्न मिल्ने छ । कोभिड १९ को संक्रमण त्रासका कारण पढाईबाट बञ्चित भएका विद्यार्थीलाई लक्षित गरेर यो पोर्टल सुरु गरिएको हो । फुर्सदमा रहेका विद्यार्थीलाई अनलाइनबाट पढाउने होडबाजी चलिरहेको बेलामा केन्द्रले यो पोर्टल सञ्चालनमा ल्याएको हो । पोर्टलमा समावेश गरिएका सबै सामग्री हार्ड ड्राइभकम राखेर सातै प्रदेशमा पठाइएको महानिर्देशक थपलियाले जानकारी दिनुभयो ।

विद्यार्थीले स्कुलमा पढ्ने पुस्तकका सामग्री नै यो पोर्टलमा राखेको हुनाले अहिले पढेका विद्यार्थीलाई स्कुल खुलेपछि सिक्न सहज हुने उहाँको विश्वास छ । केन्द्रले सरकारी तथा नीजि लगानीका विद्यालयलाई यो पोर्टलबाट आवश्यक सामग्री प्रयोग गर्न भनेको छ । फुर्सदमा रहेका शिक्षक र विद्यार्थीलाई यो पोर्टल उपयोगी हुने केन्द्रको भनाई छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार १९:२९