नेपाली क्रिकेट राष्ट्रिय टिम आज डार्विनमा उत्रिदै, टी २० खेल्ने, यस्तो छ खेल तालिका
अष्ट्रेलिया । नेपाली क्रिकेटको राष्ट्रिय टिम अगस्ट १४-२४, २०२५ सम्म अष्ट्रेलियाको उत्तरी क्षेत्रमा रहेको डार्बिनमा आयोजना हुने टप एन्ड टी-२० क्रिकेट प्रतियोगिताका लागि आज स्थानिय समय अनुसार दिनको २.४५ बजे डार्बिन अन्तरराष्ट्रिय एयरपोर्टमा आइपुग्ने भएको छ ।
आइतवार क्रिकेट एशोशियसन अफ नेपाल (क्यान)ले एक कार्यक्रम बिच खेलाडीहरुलाई बिदाई गरेको थियो ।
खेल तालिका अनुसार सिनियर टोली पठाउने नेपाल एक मात्र टोली हुनेछ भने पाकिस्तान र बंगलादेशले आफ्नो ‘ए’ टोली पठाउँदैछन्।
अमेरिकामा २०२४ माइनर लिग क्रिकेटको च्याम्पियन शिकागो किंग्समेन अर्को विदेशी टोली हो। एनटी स्ट्राइकले आयोजक टोलीको प्रतिनिधित्व गर्नेछ।
अन्य छ टोलीहरू – अष्ट्रेलियाका स्थानिय टिम होबार्ट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स र एसीटी कमेट्स – बिग ब्यास लिगमा प्रतिस्पर्धा गर्ने फ्रान्चाइजीहरूको एकेडेमी स्क्वाड हुन्।
खेलहरु टिआईओ स्टेडियम, डीएक्ससी एरिना र काजालिस लगायत विभिन्न स्थानहरूमा खेलाईने भएको छ ।
१६ सदस्यीय नेपाली टोलीको नेतृत्व कप्तान रोहित कुमार पौडेलले गर्दैछन् भने अलराउन्डर दीपेन्द्र सिंह ऐरी उपकप्तान छन्।
नेपाली टोलीमा अन्य सदस्यहरूमा आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, गुलशन कुमार झा, आरिफ शेख, भीम शार्की, रूपेश सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजान ढकाल, लोकेश बम र ललित नारायण राजवंशी छन्।
अगष्ट १४ बाट शुरु हुने खेलमा नेपालले १५ अगष्टमा एनटी स्ट्राइकर, १६ अगष्टमा बंगलादेश, १८ अगष्टमा मेलबर्न स्टार्स, १९ अगष्टमा होबार्ट हरिकेन्स, २० अगष्ट मेलबर्न रेनेगेड्स र २२ अगष्टमा पाकिस्तानी टोली संग खेल खेल्नेछ।
(तस्विर स्रोत क्यान)
प्रकाशित मिति : 05:17













